
रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार जिल्लाका ७३२ मतदान केन्द्र र २०९ मतदान स्थलमा खटिने सबै कर्मचारीहरूको नियुक्ति पत्र वितरण भइसकेको छ। निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेसँगै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितको टोली आ-आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन्।
यस पटकको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयंसेवक खटाइएको छ। यसरी जिल्लाभरका सबै केन्द्रहरूमा गरी कुल ६ हजार ५ सय ८८ जना कर्मचारीहरू चुनावी व्यवस्थापनका लागि परिचालन भएका छन्।

निर्वाचनका लागि आवश्यक मतदाता नामावली र सुरक्षित शील लगायतका सम्पूर्ण सामग्रीहरू १८ गते निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएसँगै कर्मचारीहरू सामग्री बोकेर बुथतर्फ लागेका हुन्। निर्वाचन आयोगको कार्यतालिका बमोजिम नै सबै क्रियाकलापहरू सम्पन्न भइरहेको जानकारी दिँदै अर्यालले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि आवश्यक प्रशिक्षण समेत पुरा भइसकेको बताइन् ।
त्यस्तै, मतदाता सचेतनाका लागि जिल्लाका सबै स्थानीय तहमा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम र सडक नाटकहरू समेत सम्पन्न भएका छन्। कार्यतालिका अनुसारका सम्पूर्ण तयारीहरू पूरा भएकाले अब मतदानको प्रक्रिया मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।




