रुपन्देही–३ मा कांग्रेसको जोड: सुशील गुरुङको प्रत्यक्ष जनसम्पर्क अभियान तीव्र

भैरहवा १६ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा सुशील गुरुङ सक्रिय प्रचारप्रसारमा जुटेका छन्। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। सामाजिक सञ्जालमा फैलिने भ्रम र हल्लाको राजनीति भन्दा जनतासँगको प्रत्यक्ष भेटघाट नै आफ्नो मुख्य बल बनेको गुरुङको भनाइ छ।

शनिबार भैरहवामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै गुरुङले क्षणिक ट्रेन्ड र प्रचारबाजीले वास्तविक जनमत प्रतिनिधित्व नगर्ने स्पष्ट पारे। “जनताले काम हेर्छन्, ट्रेन्ड होइन,” उनले भने, “हामीले विगतमा गरेका काम र आगामी योजनाका आधारमा जनताको विश्वास जित्छौँ।” उनले लोकतन्त्रको संस्थागत मजबुतीका लागि जिम्मेवार र अनुभवी राजनीतिक शक्तिलाई सशक्त बनाउन आवश्यक रहेको धारणा राखे।

भाषणका क्रममा गुरुङले व्यक्तिगत जितभन्दा पार्टीको जित महत्वपूर्ण रहेको बताए। पार्टी संगठन बलियो भए मात्रै लोकतान्त्रिक अभ्यास निरन्तर रहने उनको तर्क थियो। “आज म उम्मेदवार छु, भोलि अरू कोही आउलान्। तर संगठन बलियो हुनुपर्छ,” उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने।

कार्यक्रममा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पनि पार्टी पंक्तिलाई एकजुट भई गुरुङको पक्षमा सक्रिय हुन आग्रह गरे। उनले आगामी निर्वाचनलाई लोकतन्त्र, संविधान र जनअधिकारको रक्षासँग जोडिएको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे।

“देशले भोगिरहेको संकटबाट नेपाललाई कसरी अगाडि बढाउने, राष्ट्रियता र प्रजातान्त्रिक अधिकार कसरी जोगाउने भन्ने सन्दर्भमा यो निर्वाचन महत्वपूर्ण छ,” खाँणले भने। उनले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचनलाई स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियामा अघि बढिरहेको बताए।

गुरुङले निर्वाचन परिणाम जस्तोसुकै आए पनि जनतासँगको सम्बन्ध निरन्तर कायम राख्ने प्रतिबद्धता जनाउँदै अन्तिम समयसम्म सक्रिय रहन कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5