विमानस्थल सञ्चालनमा जोड दिँदै उद्योगी–व्यवसायीका मुद्दा उठाए फैज अहमद खाँ

भैरहवा, १६ फागुन ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा राज्य र निजी क्षेत्र दुवैको ठूलो लगानी जोखिममा परेको बताएका छन्।

भैरहवामा आयोजित उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै खाँले अहिले सबै राजनीतिक दलको साझा मुद्दा नै विमानस्थल सञ्चालन बनेको उल्लेख गरे। उनले प्रतिवद्धतापत्रमा मात्र नभई व्यवहारमै विमानस्थल सञ्चालनका लागि पहल आवश्यक रहेको धारणा राखे।

उनले विगतको दुईतिहाइ सरकारको पालामा विमानस्थल सञ्चालनका लागि प्रभावकारी प्रयास भए–नभएको समीक्षा गर्नुपर्ने बताए। “विमानस्थल सञ्चालन भए हजारौँ युवाले रोजगारी पाउने र स्थानीय अर्थतन्त्र चलायमान हुने अवस्था सिर्जना हुन्छ,” उनले भने।

खाँले होटल व्यवसायी लगायत पर्यटन क्षेत्र अहिले सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानका लागि सक्षम नेतृत्व रोज्न आग्रह गरे। जनताको सेवा गर्ने स्पष्ट उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उनले बताए।

कार्यक्रममा उद्योगी–व्यवसायीहरूले पनि आफ्ना धारणा राखेका थिए। दर्पण श्रेष्ठले नेकपा सरकारको कार्यसम्पादनबारे जनतामा उठेका प्रश्नको समीक्षा हुनुपर्ने बताए। गिरिशचन्द्र त्रिपाठीले स्थानीय उम्मेदवारप्रति विश्वास व्यक्त गर्दै नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्नुपर्ने धारणा राखे।

त्यसैगरी, खाद्यान्न व्यवसायी विरन्द्र ज्ञवालीले विमानस्थल सञ्चालनबारे सबै दलले प्रतिबद्धता जनाए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए। मायादेवी मन्दिरमा प्रवेश शुल्क लिइनुका विषयमा पनि प्रश्न उठाइएको थियो।

पर्यटन व्यवसायीहरूले भैरहवालाई पर्यटन केन्द्र (हब) का रूपमा विकास गर्न ठोस योजना ल्याउनुपर्ने, लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने र रात्रीकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनसँग समन्वय आवश्यक रहेको बताएका थिए। कार्यक्रममा नेकपा क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) लगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5