रुपन्देही–३ को विकासका लागि एमाले नेतृत्व अपरिहार्य : घिमिरे

भैरहवा, १५ फागुन।
नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताएका छन्। उनले रुपन्देही–३ सहित समग्र देशको दिगो विकासका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा राखे।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल सिद्धार्थनगर नगर कमिटीले भैरहवामा आयोजना गरेको निर्वाचन केन्द्रित भेलालाई सम्बोधन गर्दै घिमिरेले आदिवासी जनजाति समुदायको आन्दोलन र लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेको स्मरण गरे। उनले समुदायको नेतृत्वदायी भूमिकाप्रति सम्मान व्यक्त गर्दै एमालेले समावेशी लोकतान्त्रिक गणतन्त्र निर्माणमा अग्रणी भूमिका खेलेको बताए।

उम्मेदवार घिमिरेले शहरी र ग्रामीण क्षेत्रका आवश्यकता फरक–फरक रहेको उल्लेख गर्दै किसानका लागि समयमै मलखाद, सिँचाइ र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए। मलखादको समस्या दीर्घकालीन नीतिगत समाधानबाट मात्रै अन्त्य गर्न सकिने उनले बताए। “जनताले विश्वास गरेर जिताए भने किसानका समस्या समाधान गर्न म अग्रसर हुनेछु,” उनले भने, “भ्रष्टाचारमुक्त, सुशासनयुक्त र सन्तुलित विकास भएको राष्ट्र निर्माणका लागि आवश्यक कानून निर्माण र प्रभावकारी कार्यान्वयनमा नेतृत्व गर्नेछु।”

उनले स्थायी सरकार पाँच वर्षसम्म सञ्चालन गर्न पाए उल्लेखनीय काम गर्न सकिने विश्वास व्यक्त गरे।

यसै क्रममा भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहेको पनि घिमिरेले बताए। विमानस्थल सञ्चालनका लागि विगतमा पहल गरिसकेको र निर्वाचनपछि थप सक्रिय रूपमा अघि बढ्ने उनले स्पष्ट पारे।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य उमेश थापा लाटोमगरले आदिवासी जनजातिको हकहितमा एमालेले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। रुपन्देही जिल्ला अध्यक्ष सोहन प्रसाद थारुले देशलाई निकास दिन सक्ने एकमात्र शक्ति एमाले नै भएको उल्लेख गरे।

महासंघको सिद्धार्थनगर कमिटी कार्यवाहक अध्यक्ष गुमान सिंह सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5