
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै रूपन्देही क्षेत्र नम्बर १मा नेकपाका उम्मेदवार घनश्याम यादवले आफ्नो चुनावी अभियानलाई तीव्र र आक्रामक रूपमा अगाडि बढाएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले यतिबेला दैनिक रूपमा विभिन्न टोल–बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै उनले विगतमा आफूले गरेका कामहरूको समीक्षा प्रस्तुत गर्नुका साथै आगामी दिनमा गर्ने योजनाबारे स्पष्ट धारणा राखेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले स्थानीय स्तरमा देखिएका समस्या—खानेपानी, सिँचाइ, बेरोजगारी तथा युवापलायन जस्ता विषयलाई समाधान गर्ने विशेष योजना ल्याउने बताए । “जनताको विश्वास नै मेरो शक्ति हो,” भन्दै उनले विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट व्यक्त गरे।
चुनावी अभियानका क्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विभिन्न स्थानमा आयोजित कोणसभा तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या राख्दै समाधानको अपेक्षा व्यक्त गरेका छन्।

मतदाताहरूसँगको छलफलमा उनले पारदर्शिता, सुशासन र समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे। उनको सक्रिय अभियानले निर्वाचन क्षेत्रको राजनीतिक माहोललाई थप चासोपूर्ण बनाएको छ।
यादव २०६४ सालको संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए र उनी पूर्व भूमिसुधार राज्यमन्त्री पनि हुन्।




