
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै रूपन्देही क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बनेको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले घरदैलो कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छन्। मङ्गलबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा पुगेका उनले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य र सुरक्षित बस्ती निर्माणलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे।
घरदैलोका क्रममा बोल्दै पौडेलले भने, “जनताको घरआँगनमा पुगेर समस्या सुन्नु नै साँचो राजनीति हो। रूपन्देही–२ का नागरिकले भोगिरहेका समस्या समाधान गर्नु मेरो पहिलो दायित्व हो।” उनले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको बताए। “सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाइनेछ,” उनले उल्लेख गरे।
स्वास्थ्य सेवाका विषयमा उनले भने, “स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण अभाव देखिएको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार हो। आवश्यक बजेट र पूर्वाधार व्यवस्थापनका लागि म सक्रिय पहल गर्नेछु।” उनले प्राथमिक स्वास्थ्य केन्द्रदेखि ठूला अस्पतालसम्म सेवा विस्तार र सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
नदी आसपासका बस्ती वर्षायाममा जोखिममा पर्ने समस्या उठाउँदै पौडेलले भने, “हरेक वर्ष बाढी र कटानले स्थानीयलाई त्रसित बनाउने अवस्था अन्त्य हुनुपर्छ। दीर्घकालीन समाधानका लागि आरसीसी वाल निर्माण गरी व्यवस्थित तटबन्द गरिनेछ।” उनले संघीय र प्रदेश सरकारसँग समन्वय गरी सुरक्षित बस्ती निर्माणमा विशेष योजना ल्याउने बताए।
कार्यक्रममा सहभागी स्थानीय हरिप्रसाद अर्यालले भने, “चुन्नप्रसाद पौडेल व्यवसायी पृष्ठभूमिबाट आउनुभएको व्यक्ति हुनुहुन्छ। निजी क्षेत्रका समस्या बुझ्नुभएको छ। व्यवसायीको हकहित र रोजगारी सिर्जनाका लागि उहाँले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास छ।” उनले आर्थिक गतिविधि चलायमान बनाउन उद्योगमैत्री वातावरण आवश्यक रहेको धारणा राखे।
स्थानीय बुद्ध बोहराले वर्षायाममा नदीले पुर्याउने जोखिमबारे अनुभव सुनाउँदै भने, “वर्षा सुरु भएलगत्तै नदीको सतह बढ्छ र बस्ती जोखिममा पर्छ। बालबालिका र वृद्धवृद्धालाई सुरक्षित राख्न निकै कठिन हुन्छ। यदि तटबन्द निर्माण भयो भने हामीलाई ठूलो राहत मिल्नेछ।”
त्यस्तै ज्ञानमती मालीले भनिन्, “उहाँ बुटवलकै स्थानीय हुनुहुन्छ र उद्योग सञ्चालनको अनुभव राख्नुहुन्छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने क्षमता उहाँमा देखिन्छ। युवालाई विदेश जानुपर्ने बाध्यता घटाउन उत्पादन र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने उहाँको सोच सकारात्मक छ।”
घरदैलो अभियानका क्रममा स्थानीयले सडक पूर्वाधार, खानेपानी, सरसफाइ, महिला सशक्तीकरण र युवाका लागि रोजगारीजस्ता विषयमा पनि सुझाव दिएका थिए। पौडेलले ती सबै सुझावलाई समेट्दै भने, “जनताको अपेक्षा र सुझावलाई आधार मानेर साझा विकास योजना बनाइनेछ। म सबैको प्रतिनिधि बन्न चाहन्छु।”
रूपन्देही–२ मा बढ्दो प्रतिस्पर्धाबीच पौडेलले प्रत्यक्ष भेटघाट र संवादमार्फत मतदाताको विश्वास जित्ने रणनीति अपनाएका छन्। शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती र आर्थिक विकासलाई केन्द्रमा राखेर अघि बढेको उनको अभियानले स्थानीय स्तरमा सकारात्मक चर्चा पाउन थालेको छ। निर्वाचन नजिकिँदै जाँदा उनको घरदैलो अभियान अझै तीव्र हुने बताइएको छ।




