
तपाईं रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएर घरदैलोमा हुनुहुन्छ, जनताले कस्तो प्रतिक्रिया दिइरहेका छन्?
जनतामा निकै ठूलो गुनासो र आक्रोश छ। विशेषगरी सिँचाइको समस्याले किसानहरू मर्कामा छन्। यो क्षेत्रले बुटवलदेखि पोखरासम्मलाई अनाज पुर्याउन सक्ने क्षमता राख्छ, तर सिँचाइ नहुँदा १५ वर्षदेखि धान सुकेर पराल भएको अवस्था छ। जनताले पटक-पटक मन्त्री र सांसद बनाएर पठाए पनि विकासको नाममा यहाँ “जिरो” काम भएको छ।

बाटोघाटोको स्थिति १५ वर्षदेखि उस्तै छ, विशेषगरी मजगाउँ जस्ता ठूला बजारका खाल्डाखुल्डी अझै पुरिएका छैनन्। स्वास्थ्य र शिक्षाको हालत पनि दयनीय छ। इमर्जेन्सी पर्दा नजिकै उपचार केन्द्र नहुँदा भैरहवा पुर्याउँदा पुर्याउँदै मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था छ। गरिबका छोराछोरीलाई राम्रो शिक्षा दिन भैरहवा पठाउनुपर्छ, जसले गर्दा अभिभावकको खर्च दोब्बर भएको छ।
जनताले नेकपा संयुक्तलाई नै किन मतदान गर्ने?
हाम्रो पार्टीको मुख्य सिद्धान्त नै ‘घुस नखाने’ र ‘झुटो बोलेर भोट नमाग्ने’ हो। हाम्रा कार्यवहाक अध्यक्ष घनश्याम भुसालले स्पष्ट भन्नुभएको छ—जनतालाई झुटो आश्वासन नदेऊ, सत्य तथ्य के हो त्यही बताऊ। हामी मान्छेलाई भ्रमित पार्दैनौँ, इमान्दारिताका साथ आफ्ना एजेन्डा प्रस्तुत गर्छौँ।
तपाईंले यस क्षेत्रका लागि उठाएका मुख्य एजेन्डाहरू के-के हुन्?

मेरो पहिलो प्राथमिकता सिँचाइ हो। खेत-खेतमा पानी पुर्याउनेछु। दोस्रो, प्रत्येक पालिकामा कम्तीमा १२ घण्टा सेवा दिने गुणस्तरीय स्वास्थ्य केन्द्र बनाउनेछु। तेस्रो, प्रत्येक वडामा राम्रो हाई स्कुल बनाउनेछु ताकि बालबालिकालाई शिक्षाका लागि भैरहवा धाउनु नपरोस्। चौथो, प्रत्येक महिनाको अन्तिम दिन जनतासँग सल्लाह गरेर मात्र विकासका काम गर्नेछु।
अहिले युवाहरू राजनिती र दलप्रति निराश छन्, तपाईं उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ?
युवाहरू निराश हुनु स्वाभाविक हो। पुराना दलका नेताहरूले ३५ वर्षदेखि ठग्दै आएका छन्। म आफैँ एक उद्यमी हुँ, मैले २०-२५ जनालाई रोजगारी दिएको छु। म युवाहरूलाई भन्छु—अहिले नखुले कहिले खुल्ने? अन्तर्राष्ट्रिय विमानस्थलको १०० मिटर दक्षिणको हालत र उत्तरको हालत हेर्नुस्, के त्यहाँका जनताले अपराध गरेका हुन् र? बजेट आए पनि काम नगरेर फिर्ता पठाउने प्रवृत्ति अब चल्दैन।
तपाईंको क्षेत्रमा २२ जना उम्मेदवार छन्, तपाईंको प्रतिस्पर्धी को हो र तपाईंले नै किन जित्ने?
मेरो प्रतिस्पर्धी कोही पनि छैन, किनभने जनताले मेरो एजेन्डा बुझिसकेका छन्। कसैले आधा घण्टामा पार्टी फेरेर आएका छन्, कसैले म्यान्डेट पाएर पनि बिचैमा राजीनामा दिएर भागेका छन्। कांग्रेस र एमालेले पटक-पटक जितेर पनि के गरे? त्यसैले जनताले अब विकल्प खोजेका छन्। म आफ्नो जितमा पूर्ण ढुक्क छु।




