
फागुन ११, रुपन्देही।
रुपन्देहीको भगवानपुरस्थित छोटी भन्सार नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन आफूले निरन्तर पहल गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार दधिराम न्यौपाने ले बताएका छन्।
रोहिणी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग संवाद गर्दै उनले भगवानपुर भन्सारदेखि पाल्पाको माथागढी हुँदै पोखरासम्म सडक सञ्जाल विस्तार गर्ने योजना पूरा गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए।

केन्द्रीय सदस्यसमेत रहेका न्यौपानेले रोहिणी गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रका योजनामा आवश्यक बजेट सुनिश्चित गराउन सरकारसमक्ष आवाज उठाउने बताए। साथै, गाउँपालिका भित्रका विभिन्न सडक स्तरोन्नति र नयाँ सडक निर्माणमा तीनै तहका सरकारबीच समन्वय गरी योजनाबद्ध ढंगले काम अघि बढाइने उनको भनाइ थियो।
कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई समयमै रासायनिक मल, बीउबिजन तथा आवश्यक कृषि सामग्री उपलब्ध गराउन पहल गर्ने उनले उल्लेख गरे। न्यौपानेले रोहिणिको समृद्धि, सुशाषन, कृषि तथा पर्यटनमा काम गर्ने उनको भनाइ छ ।
उनले निर्माण अधुरा भएका कामलाई आफु जिते पछि तत्काल पुरा गर्ने बताए । घरदैलो कार्यक्रममा स्थानिय युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो




