
आगामी फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि उम्मेदवारी दिएकाहरु यतिबेला घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ, मतादाता धेरै छन् । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । हाम्रो यो स्तम्भ सञ्चालन गर्नुको मुुख्य उद्धेश्य उम्मेदवारहरुको कार्यक्रमलाई मतादाता समक्ष पुराउने हो । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका खिमलाल भट्टराईसँग हाम्रा सहकर्मी प्रतिक पौडेल र मनोज क्षेत्रीले गरेको कुराकानिको सम्पादित अंशः
स्वागत छ तपाईँलाई। अहिले चुनावी चटारोमा हुनुहुन्छ, घरदैलोका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

धेरै धन्यवाद। घरदैलोका क्रममा मैले मतदाताबाट असाध्यै माया, सम्मान र ठूलो विश्वास पाएको छु। जनतामा उत्साहसँगै केही जिज्ञासा र प्रश्नहरू पनि छन्। खासगरी विगतदेखि नै विकास निर्माणका कामहरू अलि तीव्र गतिमा भइदिएको भए हुन्थ्यो भन्ने उनीहरूको गुनासो छ। यद्यपि, मप्रति उहाँहरूको भरोसा कायमै छ। केही अधुरा काम पूरा हुने आशा र नयाँ परिवर्तनको अपेक्षासहित जनताले मलाई स्वागत गरिरहनुभएको छ।
जनताले यसपटक नेकपा (एमाले) लाई नै किन मतदान गर्नेरु तपाईँका मुख्य योजनाहरू के के हुन् ?
राष्ट्रिय रूपमा हामीले हाम्रो देश र लोकतन्त्रलाई बलियो बनाउनु छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राजनीतिलाई विशुद्ध विकासमा केन्द्रित गरेर जनताको जीवनस्तर बदल्नु हाम्रो मुख्य लक्ष्य हो। मेरो निर्वाचन क्षेत्रको हकमा मैले स्पष्ट तीनवटा बुँदालाई अगाडि सारेको छु। पहिलो, यस क्षेत्रका पाँचवटै पालिका र ३२ वटा वडालाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने। दोस्रो, जनसेवालाई सरल बनाउने—जहाँ जनताले जनप्रतिनिधिलाई सहजै भेट्न सकून् र उनीहरूका समस्याको तत्काल समाधान होस्। तेस्रो, यस क्षेत्रको गरिबी निवारण। बुद्धको जन्मस्थल भएर पनि यहाँका झन्डै ४७ प्रतिशत जनता गरिबीको रेखा मुनि हुनु दुखद छ। त्यसैले लुम्बिनीको विकाससँग यहाँको बस्तीलाई जोडेर जनताको आर्थिक अवस्था बदल्ने मेरो मुख्य एजेन्डा हो।

लुम्बिनीसँग बस्ती विकासलाई कसरी जोड्नुहुन्छरु तपाईँको विकासको मोडल कस्तो छ?
मेरो योजना भौतिक विकाससँगै पर्यटन र कृषिलाई आधुनिक बनाउने हो। हामीसँग गजेडहवा र दानापुरजस्ता सुन्दर तालहरू छन्। लुम्बिनी क्षेत्रका साना(ठूला पोखरी र तलैयालाई मात्रै सौन्दर्यकरण गर्न सके पनि यो क्षेत्र निकै आकर्षक देखिन्छ। त्यहाँसम्म पुग्ने गुणस्तरीय बाटो, उज्यालो सडक बत्ती र सुरक्षाका लागि सिसि क्यामेराको प्रबन्ध मिलाउनु पर्छ। पर्यटकहरू यहाँ दुख कष्ट हेर्न होइन, सुख र शान्तिको अनुभूति लिन आउने हुन्। त्यसैले हामीले यहाँको हस्पिटालिटी र पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु पर्छ। कृषिमा आधुनिकीकरण र व्यावसायिकता भित्र्याउन सकियो भने यहाँका युवाहरूलाई स्वरोजगार बनाउन सकिन्छ र समग्र क्षेत्रकै आर्थिक उन्नति हुन्छ।
युवाहरू राजनीतिप्रति अलि निराश देखिन्छन्, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छर?
युवाहरूलाई चाहिएको गुणस्तरीय शिक्षा र रोजगारी हो। हामीले साधारण शिक्षालाई प्राविधिक र व्यावसायिक शिक्षामा बदल्नुपर्छ ताकि उनीहरूले हातमा सिप र मनमा आत्मविश्वास बोक्न सकून्। कृषि र पर्यटन नै हाम्रा रोजगारीका ठूला आधार हुन्। यस क्षेत्रमा ठूला रिसोर्ट र पाँचतारे होटलहरू खुल्दा युवाहरूले स्वदेशमै राम्रो तलब र सम्मानजनक काम पाउँछन्। मेरो अर्को सपना यस क्षेत्रलाई डिजिटल लुम्बिनी बनाउने हो, जहाँ प्रशासनिक सेवा, शिक्षा र सार्वजनिक स्थलहरू प्रविधिमैत्री र फ्री वाईफाई जोनयुक्त हुनेछन्। हाम्रो लक्ष्य भनेको बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्ने हो। कोही पनि युवा रुँदै रुँदै बिदेसिन नपरोस्, बरु स्वदेशमै भविष्य देखेर खुसीसाथ काम गर्ने वातावरण बनोस् भन्ने मेरो प्रयास रहनेछ।
चुनावी मैदानमा तपाईँका प्रतिस्पर्धीहरू धेरै छन्, आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ र जित्ने आधार के हो?
लोकतन्त्रमा प्रतिस्पर्धा स्वभाविक हो। परम्परागत र सांगठनिक हिसाबले हेर्दा नेपाली कांग्रेस नै हाम्रो मुख्य प्रतिस्पर्धी हो। बाहिर केही हल्लाहरू सुनिए पनि म जब गाउँ र बस्तीमा पुग्छु, त्यहाँ जनताको स्पष्ट झुकाव नेकपा (एमाले) र सूर्य चिह्नप्रति देख्छु। जनता विकास र समृद्धिको एजेन्डामा कन्भिन्स हुनुहुन्छ। त्यसैले मेरो जितको मुख्य आधार भनेकै जनताको अटुट विश्वास र मैले अघि सारेका व्यावहारिक विकासका योजनाहरू हुन्।




