टेलरिङ्ग पेसा पुस्तान्तरण गर्दै साहब हुसेन

कमल रायमाझी
सिद्धार्थनगर,१० फागुन: सिद्धार्थनगर नगरपालिका–१२, कालिकापथस्थित लाइन्स भवनमा रहेको ‘गुडविल टेलर’ केवल कपडा सिउने पसल होइन, ४५ वर्षदेखि निरन्तरता, इमान्दारी र सेवाभावको कथा समेत हो। ग्राहकको चाहनाअनुसार डिजाइन, फिटिङ र समयमै डेलिभरी दिन थालेपछि यस टेलरको लोकप्रियता वर्षौंदेखि उकालो लागेको छ।
वि.सं. २०३९ सालमा शाह साहब हुसेनले सडक पेटीबाट सुरु गरेको टेलरिङ्ग पेसा आज व्यवस्थित व्यवसाय बनेको छ।
सुरुका दुई वर्ष सडकछेउमै सुई–धागो सम्हाल्दै हुसेनले संघर्ष गरेस त्यसपछि आफ्नै पसल खोलेर निरन्तरता दिए। वडा नं। ६, गल्लामण्डीमा जन्मिएका ६६ वर्षीय हुसेन भन्छन्, “मैले पैसाको हिसाब कहिल्यै कडाइले राखिनँ। मेरो लक्ष्य सधैं परिवार खुसी राख्ने र छोराछोरीलाई पढाउने थियो।”
श्रीमती खैरुन छोरीहरु नाजमा खातुन र शर्मिला खातुन दुई छोरा—समीर र सालीक हुसेनका अभिभावक हुसेन आफ्नो सबैभन्दा ठूलो सम्पत्ति सन्तानलाई मान्छन्। “धनभन्दा शिक्षा ठूलो,” उनको सरल दर्शन छ। कमाइको अधिकांश हिस्सा छोराछोरीको शिक्षामा लगानी गर्दै आएका उनले आर्थिक तुलना भन्दा सन्तुष्टिलाई प्राथमिकता दिए।
आज ‘गुडविल टेलर’ भैरवाको कालिकास्थान क्षेत्रमा विश्वसनीय नाम बनिसकेको छ। विद्यालय–कलेजका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र विवाह–उत्सवका ग्राहकसम्म यहाँको स्थायी ग्राहकवर्ग छन्। परम्परागत दौरा–सुरुवालदेखि आधुनिक सूट–ब्लेजर, र कस्टम डिजाइनसम्म, पसलले समयअनुसार सेवा विस्तार गरेको छ। हुसेन भन्छन्, “ग्राहकको शरीर र मन दुबै मिल्ने फिटिङ दिनु नै हाम्रो पहिचान हो।”
उमेर ढल्किँदै जाँदा उनले व्यवसाय पुस्तान्तरणको तयारी थालेका छन्। जेठा छोरा समीर हुसेन—कम्प्युटर इन्जिनियर—हाल बुवाकै टेलरिङ पेसा सम्हाल्दैछन्। “इन्जिनियर पढे पनि सीप सिकेपछि आफ्नै ठाउँमा काम गर्न सकिन्छ भन्ने देखाउन चाहन्छु,” हुसेन भन्छन्। कान्छा छोरा आईटी इन्जिनियरका रूपमा निजी कम्पनीमा कार्यरत छन्। दुई छोरीले स्नातक तह पूरा गरी वैवाहिक जीवनमा स्थापित भइसकेका छन्।
हुसेनको दृष्टिमा स्वदेशमै अवसर सिर्जना गर्नु सम्भव छ। “विदेशमा दुःख गरेर कमाउनुभन्दा आफ्नै देशमा सीप र मेहनतले सम्मानित जीवन जिउन सकिन्छ,” उनी भन्छन्। पछिल्लो समय युवाको विदेश–प्रवासनले नेपालमा दक्ष जनशक्तिको अभाव बढ्दै गएको उनको बुझाइ छ। “सरकारले सीप–आधारित तालिम र साना व्यवसाय प्रवर्द्धनमा ध्यान दिनुपर्छ,” उनले सुझाव दिए।
चार दशकभन्दा बढी समय सुई–धागोसँग बिताएका हुसेन अब विस्तारै जिम्मेवारी सन्तानलाई सुम्पेर समाजसेवामा समय दिन चाहन्छन्। “छोराले राम्रोसँग सम्हाल्न सकेपछि म रिटायर भएर समुदायका काममा लाग्छु,” उनको योजना छ।
गुडविल टेलरको कथा केवल व्यवसायिक सफलताको कथा होइनस यो श्रमप्रतिको सम्मान, शिक्षाप्रतिको लगानी र स्वदेशमै सम्भावना देख्ने विश्वासको कथा हो। सिद्धार्थनगरको व्यस्त गल्लीमा टिकेर उभिएको यो सानो पसलले देखाएको छ—निरन्तरता, गुणस्तर र इमान्दारी भए ग्राहकको मन जित्न समय लाग्दैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5