
भैरहवा । भानु माध्यमिक विद्यालय ले आफ्नो स्वर्ण महोत्सव विशेष समारोहका साथ मनाएको छ। रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित विद्यालयले शनिबार विविध कार्यक्रम आयोजना गरी ५० औँ वार्षिकोत्सव सम्पन्न गरेको हो।
स्वर्ण महोत्सवका अवसरमा विद्यालयले स्मारिका विमोचन, अभिभावक दिवस, छात्रवृत्ति वितरण तथा जग्गादाता, छात्रवृत्ति दाता र पत्रकारहरूलाई सम्मान गरेको थियो। कार्यक्रममा विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि र योगदानबारे चर्चा गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक मोतिप्रसाद सुवेदीले विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट गुणस्तरीय पठनपाठन हुँदै आएको जानकारी दिए। उनले आगामी दिनमा शैक्षिक स्तर अझ उकास्न समुदाय, अभिभावक र सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान ले शिक्षा क्षेत्रमा भानु माविको अग्रणी भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। उनले सक्षम र दक्ष नागरिक उत्पादन गर्न गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।
समारोहमा जग्गादाता, छात्रवृत्ति दाता, अभिभावक, कर्मचारी, पत्रकार तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक कार्यक्रम र शुभकामना मन्तव्यसहित सम्पन्न स्वर्ण महोत्सवले विद्यालयको गौरवशाली इतिहास र भविष्यप्रतिको प्रतिबद्धता पुनः स्मरण गराएको आयोजकले जनाएको छ।





