रूपन्देहीलाई लगानी र रोजगारीको हब बनाउने प्रतिबद्धता

बुटवलमा विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले रुपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र र विकासको अग्रणी जिल्ला बनाउने लक्ष्य अघि सारेका छन्। पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उनले विगतमा धेरै पूर्वाधार विकासका काम सम्पन्न गरेको दाबी गर्दै अब थप उचाइमा विकास लैजाने प्रतिबद्धता जनाएका हुन्।

उनको प्रतिबद्धतामा रोजगारमूलक तथा अनुसन्धानमा आधारित गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा विस्तार, आईटी र डिजिटल क्षेत्रमा रोजगारी सिर्जना, युवालाई स्टार्टअप सिड फन्ड र सहुलियत कर्जा उपलब्ध गराउने योजना समावेश छन्। बुटवल क्षेत्रलाई सूचना प्रविधि र रोजगारीको हब बनाउने लक्ष्य राखिएको छ।

स्वास्थ्यतर्फ १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण रूपमा सञ्चालन गर्ने, पालिका अस्पतालहरू सुदृढ गर्ने, ट्रमा सेन्टर स्थापना गर्ने, स्वास्थ्य बीमा प्रभावकारी बनाउने तथा सामुदायिक अस्पतालहरूको स्तरवृद्धि गर्ने योजना उल्लेख छन्।

पूर्वाधारतर्फ सिद्धार्थ राजमार्ग स्तरोन्नति, सिद्धबाबा सुरुङमार्ग सञ्चालन, बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे सडक विस्तार, तिनाउ नदीमा सिग्नेचर पुल निर्माण, सहरी सडक स्तरोन्नति र तिनाउ–दानव नदी करिडोर विकासका कार्यक्रम छन्। साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

उद्योग तथा लगानीतर्फ मोतीपुर औद्योगिक क्षेत्र पुनःरेखाङ्कन गरी सञ्चालन, बुटवल औद्योगिक क्षेत्र विस्तार, धागो कारखाना पुनः सञ्चालन, साना–मझौला उद्योग प्रवर्द्धन र कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा जोड्ने योजना अघि सारिएको छ।

पर्यटन विकासका लागि लुम्बिनी गुरुयोजना कार्यान्वयन, ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, बृहत् लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने लक्ष्य राखिएको छ। साथै भूमिहीन तथा सुकुम्बासी समस्या समाधान, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण, फोहोरमैला व्यवस्थापन, स्वच्छ सहर अभियान, विद्युत् आपूर्ति सुदृढीकरण र पारदर्शी सेवा प्रवाहमा जोड दिइएको छ।

समग्रमा, पौडेलले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, कृषि, पर्यटन र सुशासनलाई प्राथमिकतामा राख्दै रुपन्देहीलाई आधुनिक, विकसित र आर्थिक रूपमा सबल जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5