
हामी यतिबेला चुनाबको सम्मुुखमा छौ । यहि फागुुन २१ गते हुुन गईरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनकोलागि देशैभर विभिन्न दलका मात्रै होइन स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु पनि घरदैलो गरिरहेका छन् । यो प्रतिनिधीसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरु सबै मतादातालाई भेट्न पनि सक्दैनन । किनकी समय थोरै छ । यसैले सञ्चार माध्ययमको दायित्व बुझेर उम्मेदवारहरुको मुुख्य चुुनाबी कार्यक्रम सहितको कुराहरु समेटेर नेपाल वर्ड डटकमले उम्मेदवारसँग ५ प्रश्न निर्वाचन विशेष स्तम्भ शुरु गरेको छ । निर्वाचन विशेषको सो स्तम्भकोलागि रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका हिरा के.सी.सँग हाम्रा सहकर्मि प्रतिक पौडेल र जेपी रायले गरेको कुराकानिको सम्पादित अंश ः
चुनावी घरदैलोमा हुनुहुन्छ, मतदाताहरूले के–कस्ता समस्या र अपेक्षा राख्नुभएको छ?

चुनाबको शीलशिलामा यतिबेला हामी रुपन्देही क्षेत्र नम्बर १ का मतादाताहरुसँग भेटघाट गरिरहेका छौ । यसैले अहिले नियमित रूपमा मतदाताहरूको घरदैलोमा छौँ। आम नागरिकको घर दैलोमा पुग्दा वा उहाँहरुलाई भेट्दा दैनिक जनजीविकासँग जोडिएका विषयहरूलाई नै प्राथमिकता राखेर कुराहरु राखिरहनुु भएको छ ।
रुपन्देही १ का मतादाताहरुले हामीलाई भेट्दा खासगरी बाटोघाटो, खानेपानी, बिजुली, सिँचाइ र किसानका लागि मलखादका कुराहरू राखिरहनुु भएको छ । केही सचेत नागरिकहरूले अहिलेको ’जेन्जी’ विद्रोहको माग र देशका समसामयिकलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव पनि दिनुभएको छ। समग्रमा मतदाताहरूबाट मिश्रित तर उत्साहजनक प्रतिक्रियाहरू नै आएका छन्।
यसपटक जनताले नेपाली कांग्रेसलाई नै किन मतदान गर्ने? के छ त्यस्तो खास कारण?
नेपाली कांग्रेस स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि लड्दै आएको पार्टी मात्र होइन, हरेक परिवर्तनको नेतृत्व गरेको शक्ति पनि हो। अहिलेको सन्दर्भमा भदौ २३ गते जेनजी युवाहरूले गरेको आन्दोलनमा सरकारले जुन बर्बर दमन ग¥यो, त्यसको निष्पक्ष छानबिन गर्न र दोषीलाई दण्डित गर्न पनि कांग्रेसले जित्नुुपर्ने खाँचो छ। युवाहरूको आक्रोशलाई सम्बोधन गर्न र मुलुकमा व्याप्त निराशा चिर्न हामीले आफूलाई ’रिफर्म’ गरेका छौँ। भ्रष्टाचार निवारणका लागि ०४६ सालपछिका सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने विधेयक हाम्रै युवा नेताहरूले सदनमा दर्ता गराउनुभएको थियो। त्यसैले सुशासन र पारदर्शिताका लागि अहिले मतदाताले कांग्रेस रोज्नुपर्ने देखिन्छ।

तपाईंका मुख्य एजेन्डाहरू र जित्ने आधार के–के हुन?
सबैभन्दा पहिलो आवश्यकता भनेको देशको राजनीतिलाई स्थिर बनाउनु र भविष्य सुनिश्चित गर्नु हो। उत्तेजना र आवेगले देश चल्दैन, यसका लागि संयमता र अनुभव चाहिन्छ। हामीले पर्यटनलाई पहिलो, कृषिलाई दोस्रो र रोजगारी सिर्जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना वर्षौँसम्म सम्पन्न नहुनु दुःखद छ, हामी यसलाई प्राथमिकताका साथ टुङ्ग्याउने छौँ।
हामीले यसपटक श्रद्धेय नेता गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका छौँ। उहाँ प्रधानमन्त्री हुनुभयो भने किसानले अनुभूति गर्ने गरी मल, बीउ र सिँचाइको व्यवस्था हुनेछ। म स्वयं किसानको छोरो र कृषिकर्ममा जोडिएको व्यक्ति हुनाले यहाँका किसान, मजदुर र युवाका समस्यालाई नजिकबाट बुझेको छु। हिजो नगर प्रमुख भएर मैले जुन सेवा गरेँ र अहिले जुन निष्ठाका साथ खटिएको छु, त्यही नै मेरो जितको मुख्य आधार हो।
युवाहरू राजनीतिप्रति अलि निराश देखिन्छन् नि, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ?
युवाहरूमा देखिएको निराशा र आक्रोशको कारण हामीभित्र रहेका केही कमी–कमजोरीहरू पनि हुन्, जसलाई हामीले स्वीकार गरेका छौँ। तर अहिले नेपाली कांग्रेसको नयाँ नेतृत्व र नयाँ नीतिले युवाहरूलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ। विदेश जाने कुरालाई अभिशाप मान्ने भाष्य चिर्न हामीले स्टार्टअप र आईटी बेस प्रोग्रामहरू ल्याएका छौँ। हामी जे बोल्छौँ, त्यही गर्छौँ। सस्तो लोकप्रियताका लागि भ्रम फैलाउने काम हामी गर्दैनौँ। लोकप्रिय नाराको भरमा आएका शक्तिले देशको विविधता र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सक्दैनन्, त्यो केवल कांग्रेसले मात्र सक्छ।
यस क्षेत्रमा धेरै उम्मेदवार हुनुहुन्छ, तपाईंको निकटतम प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ?
लोकतन्त्रमा धेरै उम्मेदवार हुनु स्वाभाविक हो र म सबै प्रतिस्पर्धी दलहरूलाई सम्मान गर्छु। कसैलाई ठूलो वा सानो भनेर आकलन गर्नुभन्दा पनि म आफ्नो कर्ममा विश्वास गर्छु। मैले यस क्षेत्रको विकास र सामाजिक काममा लामो समयदेखि जुन योगदान गरेको छु, त्यसले गर्दा म नै मतदाताको पहिलो छनोट बन्नेमा ढुक्क छु। मलाई विश्वास छ, समुन्नत देश निर्माणको यात्रामा गगन थापाको हात समातेर अगाडि बढ्न क्षेत्रबासीले मलाई रुख चिन्हमा मतदान गरी विजयी गराउनुहुनेछ।




