रुपन्देही ३ निर्वाचन : कसको होला त पल्ला भारी?

भैरहवा । रुपन्देही क्षेत्र नं ३ मा यति बेला चुनाबी घरदैलोमा उम्मेदवारहरू व्यस्त छन् ।  निर्वाचनको बेला सबै उम्मेदवारले निर्वाचन जित्ने अपेक्षा गरी मतादाताको घर घरमा पुग्नु स्वाभाविक हो तर निर्वाचनमा मुख्य प्रतिस्पर्धा भने ३÷४ जनाबिच हुने गर्दछ ।
रुपन्देही ३ मा आसन्न फागुन २१ गतेको निर्वाचनमा मुख्यतया एमालेका उम्मेदवार वासुदेव घिमिरे, रास्वपाका उम्मेदवार लेखजंग थापा, काँग्रेसका उम्मेदवार शुसील गुरुङ, राप्रपाका उम्मेदवार गौरव बोहोरा बीच प्रतिस्पर्धा हुने देखिएको छ । रुपन्देही क्षेत्र नम्बर ३ का १ लाख ४० हजार ३५ जना मतादाताले ३६ जना प्रतिस्पर्धी मध्ये एक जनालाई आफ्नो जनप्रतिनिधि चयन गर्नेछन् ।
घरदैलो शुरु भएको तेस्रो दिन सम्म आउँदा मतादाताहरूको मनोकाङ्क्षा बुझ्दा अधिकांश मतादाताले अनुभव र परिपक्व नेतालाई आफ्नो जनप्रतिनिधि बनाउन चाहेको देखिएको छ । सियारीका रामसेवक थारुले फागुन २१ को निर्वाचनमा चुनाबी मैदानमा रहेका उम्मेदवार मध्ये अनुभव नेता र परिपक्व नेतालाई मत दिने बताए ।
६१ वर्षीय थारुले परिपक्व नेता भनेर प्रतिस्पर्धामा रहेका उम्मेदवार मध्ये एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई मत दिने बताइरहँदा ओमसतिया गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय मधु रायमाझीले वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाका उम्मेदवारलाई मत दिने बताए ।
पाका पुस्ताको रोजाई मा घिमिरे परिरहँदा नयाँ पुस्ताको रोजाई मा थापा पर्ने सङ्केत देखिएको छ । यद्यपि काँग्रेसका युवा नेता शुुसील गुरुङ, राप्रपाका गौरव बोहोरा, नेकपाका फैज अहमद पनि मुख्य प्रतिस्पर्धीको रूपमा रहेका छन ।
एमाले उम्मेदवार घिमिरे तिलोत्तमा नगरको प्रमुख भई सर्वोत्कृष्ट मेयरको अवार्ड समेत जिती विकासको रोल मोडल बनेका थिए । जसको चर्चा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि गर्ने गरेका छन् । तीनै घिमिरे ०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ मा काँग्रेसका शक्तिशाली नेता भरत शाहलाई फराकिलो मतान्तरले पराजित गरी सांसद चुनिएका थिए । यति बेला एमालेले उनलाई रुपन्देही ३ मा उम्मेदवार बनाएपछि उनी थप सुरक्षित देखिएका छन् । आफैले ५ वर्ष काम गरेर विकास गरेको क्षेत्र तिलोत्तमाको २ वटा वडाबाट उनले अन्य उम्मेदवारले भन्दा बढी मत पाउने विश्वास गरेका छन् ।
घिमिरेलाई जसपाका तर्फबाट उम्मेदवार बनेका श्री निवास यादवले आफ्नो उम्मेदवारी निष्क्रिय बनाई समर्थन गर्नुले झनै सुरक्षित बनाएको छ । यसै गरी अर्का स्वतन्त्र उम्मेदवार मोहम्मद मुुर्तुुजा साहले पनि घिमिरेलाई नै समर्थन गरी उम्मेदवारी फिर्ता गरेका छन् ।
एमालेको सांगाठानिक संरचना पनि बलियो रहेको रुपन्देही ३ मा एमालेको बलमा ०७९ को निर्वाचनमा राप्रपाका दीपक बोहोराले तत्कालीन काँग्रेसका शक्तिशाली बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । ०७९ को निर्वाचनमा झैँ यति बेला एमालेको अभूतपूर्व एकता पुनः स्थलगत रूपमा देखिएको छ । एमालेका नेता कार्यकर्ता स्वतः स्फूर्त रूपमा घरदैलोमा खटिएका छन् । जसले पनि घिमिरेको जितलाई थप सुनिश्चितता प्रदान गर्न टेवा दिई रहेको एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले बताए ।
अर्कोतिर रास्वपाका उम्मेदवार रहेका थापा राजनैतिक रूपमा नयाँ हुन् । घडी हेरेर दैनिक सयौँ बिरामी चेकजाँच गर्नमा व्यस्त हुने उनी यति बेला राजनैतिक मैदानमा छन् । देशैभर चलेको घण्टी र बालेनको क्रेजले उनलाई कति सहयोग गर्छ त्यो भने हेर्न बाकी नै छ । फागुन ९ गते रबी लामिछाने र बालेन शाह समेतको सहभागितामा आयोजना हुन गइरहेको भैरहवाको सभाले पनि उनको मत कति बढाउने भन्ने निष्कर्ष निकाल्ने छ । यद्यपि राजनैतिक रूपमा उनमा रहेको कच्चापन र अनुभवको कमीले उनलाई पुराना पुस्ताले पत्याउन भने गाह्रो छ ।
उता विद्यार्थी राजनीतिबाट उदाएका शुुसील गुरुङको सादगीपनले पनि धेरैको मत तान्ने सम्भावना छ । कुनै तडकभडक बिनै घरदैलो गरिरहेका उनलाई रुपन्देही ३ का काँग्रेसीहरूले इमानदारीपूर्वक मत दिए भने उनले एमालेका उम्मेदवार घिमिरेलाई कडा टक्कर दिने सम्भावना छ ।
राप्रपाका उम्मेदवार युवा नेता गौरव बोहोराले गत ०७९ को निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवार भई निर्वाचन जितेका दीपक बोहोराले पाएको मत तान्ने कोसिसमा छन् । स्वर्गीय बोहोराका जेठा छोरा गौरवलाई ०७९ मा हलोमा मत हालेका मतादाताले मत हाल्ने राप्रपाको विश्वास छ । ०७९ को प्रतिनिधिसभाको मतको आधारमा निर्वाचन जित्ने उनको विश्वास छ ।  नेकपाका उम्मेदवार फैज अहमद खान एमाले, काँग्रेसको असन्तुष्ट मत र आफ्नो पार्टिको मत लिएर निर्वाचन जित्ने दाउमा छन् ।
यसरी विभिन्न दाउपेचका साथ उम्मेदवार रहेका एमाले, काँग्रेस, रास्वपा, राप्रपा, नेकपाका उम्मेदवारले अपेक्षा गरेको मतलाई अन्य ३२  जना उम्मेदवारले प्रभावित गर्नेछन् । त्यसमध्ये स्वतन्त्र उम्मेदवार रहेका गोपाल भण्डारी , महेन्द्र यादव, जेबी गुप्ता, राजमोका बर्दे आलम, नेकपा माओवादीका शङ्कर ज्ञवाली,  राष्ट्रिय जनमुक्ति पार्टिका मोजिब अलि, जनमत पार्टिका विशाल गुप्ता, नागरिक उन्मूक्ती पार्टि नेपालका नन्द कुमारी थापाले पाउने मतले पनि प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5