“हाम्रो पार्टीमा घुसखोरलाई कुनै ठाउँ छैन, प्रमाणित भए तत्काल निष्कासन!”

नेपालको कम्युनिस्ट आन्दोलन अहिले इतिहासकै कठिन मोडमा छ। ठुला भनिएका पार्टीहरू बिचौलियाको घेराबन्दीमा परिरहँदा एउटा ‘कठिन यात्रा’ को उद्घोषसहित नेकपा (संयुक्त) पुनर्गठित भएको छ। यसै सन्दर्भमा पार्टीका महाधिवेशन आयोजक कमिटी सदस्य श्रीराम यादवसँग गरिएको विस्तृत कुराकानी:

१. नेपालमा कम्युनिस्ट पार्टीहरू एकीकृत हुनुपर्नेमा झन् विभाजित भइरहेका छन्। यस्तो अवस्थामा नेकपा (संयुक्त) कसरी अगाडि बढ्दै छ?

अहिले कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा छ। जुन वर्ग र समुदायका लागि कम्युनिस्ट पार्टी स्थापना भएको थियो, आजको नेतृत्वले त्यो बाटो बिराएको छ। हामीले त्यही विचलनलाई सच्याउन पार्टी पुनर्गठन गरेका हौँ। हाम्रो मुख्य उद्देश्य भनेको एउटा पनि घुसखोर नेता नभएको पार्टी निर्माण गर्नु हो। यो बाटो कठिन छ, तर हामी ‘कठिन यात्राका यात्री’ हौँ। हामीले नगरे कसले गर्ने? हाम्रै पालामा सम्भव भएसम्म गर्छौँ, नभए आउने पुस्ताका लागि एउटा शुद्ध राजनीतिक जग बसाल्छौँ।

२. अहिले रास्वपा जस्ता नयाँ पार्टीहरू पनि भ्रष्टाचार विरोधी नारा लिएर आएका छन्। तपाईँहरू उनीहरूभन्दा कसरी फरक हुनुहुन्छ?

नारा लगाउनु र चरित्र हुनु फरक कुरा हो। हाम्रा नेताहरू चन्द्रदेव जोशी, घनश्याम भुसाल र विजय पौडेलको राजनीतिक इतिहास र चरित्र निष्कलंक छ। नयाँ भनिएका कतिपय पार्टीका नेताहरूमाथि अहिले नै गम्भीर प्रश्नहरू उठेका छन्, कोही त हिरासतसम्म पुगेका छन्। हामी गफमा होइन, पद्धतिमा विश्वास गर्छौँ। हाम्रो पार्टीमा कसैलाई भ्रष्टाचारको आरोप मात्र लाग्यो भने पनि तत्काल निलम्बन गरिन्छ र प्रमाणित भएमा सदाका लागि निष्कासन गरिन्छ। हामी श्रमजीवी र श्रममा आधारित राजनीति गर्छौँ।

३. राजनीतिमा ‘बुढो पुस्ता’ को हालीमुहाली भयो भन्ने गुनासो छ। तपाईँको पार्टीमा युवा र अनुभवको तालमेल कसरी मिलाउनुभएको छ?

हामी उमेरले मात्र होइन, सोचले नयाँ हुन चाहन्छौँ। चन्द्रदेव जोशीले आफैँले “अब हामी नेतृत्व गर्दैनौँ, युवाले चलाउनुस्” भनेर घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभयो। यो एउटा ठुलो सन्देश हो। ७५ वर्ष कटेपछि मान्छेले सल्लाहकारको भूमिका खेल्नुपर्छ, लोड बोक्ने काम युवाकै हो। हामी २५ वर्ष मुनिका युवाहरूलाई राजनीति सिकाउन चाहन्छौँ, किनकि उनीहरू अहिलेसम्म कमिसनतन्त्रको जालोमा फसेका छैनन्। जसले भ्रष्टाचारको रगत चाखिसक्यो, उसले सुधार गर्छ भन्नेमा मलाई विश्वास छैन।

४. अहिलेका ठुला भनिएका कम्युनिस्ट पार्टीहरू माफिया र बिचौलियाको घेरामा परेको आरोप छ। जसकारण अन्य कम्युनिस्ट पार्टीलाई हेर्ने नजरिया पनि त्यही ढंगकाे छ । यसलाई कसरी चिर्नुहुन्छ?

यो तीतो यथार्थ हो। हिजो हामी पनि त्यहीँ बसेर लडेका हौँ, तर नसकेपछि विद्रोह गरेर निस्कियौँ। आज ठुला पार्टीका नेताहरू ठेकेदारको घरमा बस्ने, बिचौलियालाई समानुपातिक सांसद बनाउने र नीतिगत भ्रष्टाचारमा लिप्त हुने अवस्था छ। हामी यसलाई जरैदेखि उखेल्न चाहन्छौँ। हाम्रो कार्यकर्ता नेताको पछाडि लागेर सरकारी अड्डा धाउने वा बिचौलिया बन्ने होइन, उत्पादनमा जोडिनुपर्छ। म आफैँ पनि राजनीतिसँगै खेतीपातीमा संलग्न छु। जबसम्म कार्यकर्ता श्रम र उत्पादनसँग जोडिँदैनन्, तबसम्म भ्रष्टाचार रोकिँदैन।

५. अबको युग डिजिटल हो। तपाईँहरू आफ्नो विचार जनतामाझ पुर्‍याउन प्रविधिलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ?

हामी प्रविधिको महत्त्व बुझ्छौँ। हाम्रा नेताहरूले भिडियो र सामाजिक सञ्जालमार्फत विचार प्रवाह गर्न थाल्नुभएको छ। हामी जिल्ला तहमा पनि प्रविधिसँग जोडिएर प्रचारलाई व्यापक बनाउँछौँ। रुपन्देही लगायत देशभरका मतदातालाई मेरो आग्रह छ— यदि तपाईँ भ्रष्टाचार र घुसखोरीबाट पीडित हुनुहुन्छ भने, एकपटक ‘हसिया’ चुनाव चिन्हमा मतदान गरेर हामीलाई साथ दिनुहोस्। तपाईँको एउटा भोटले देशमा सुशासनको नयाँ अध्याय सुरु गर्न सक्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5