
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ८ स्थित बस्डिलवामा स्थापना गरिएको अस्थायी प्रहरी पोष्टले स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ। सीमावर्ती क्षेत्र तथा आवतजावतको चाप रहने यस स्थानमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोष्टले छोटो समयमै सकारात्मक प्रभाव देखाउन थालेको छ।
अस्थायी प्रहरी पोष्टको इन्चार्जको जिम्मेवारी प्रहरी सहायक निरीक्षक राजकुमार खत्रीले सम्हालिरहेका छन्।
स्थानीयवासीहरूका अनुसार यसअघि प्रहरीको नियमित उपस्थिति नहुँदा सानातिना विवाद, चोरी, घरेलु हिंसा तथा असामाजिक गतिविधि बढ्ने डर थियो। घटनाहरू भए पनि प्रहरीसम्म जानकारी पुर्याउन समय लाग्ने भएकाले समस्या झन जटिल बन्दै जाने अवस्था थियो। तर अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि भने प्रहरी तत्कालै घटनास्थलमा पुग्ने र समस्या समाधानमा सक्रिय हुने गरेको उनीहरूको भनाइ छ।
बस्डिलवा क्षेत्रका स्थानीय व्यापारीहरू पनि अहिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताउँछन्। पहिले बेलुकी बजार बन्द गर्दा डर लाग्थ्यो, अहिले प्रहरी नजिकै भएकाले ढुक्क भएर व्यवसाय गर्न पाएको सुनिता थापाले बताइन। त्यसैगरी, महिलाहरू र ज्येष्ठ नागरिकहरूले पनि दिनहुँको आवतजावतमा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।
पोष्ट इन्चार्ज राजकुमार खत्रीले प्रहरी केवल घटना भएपछि मात्र खटिने संस्था होइन, समुदायसँग हातेमालो गरेर अपराध रोकथाम गर्ने निकाय रहेको बताए।

खत्रीले आफुहरु स्थानीयसँग निरन्तर संवादमा रहैको बताउदै गुनासो सुन्ने र समाधानको प्रयास गर्ने गरेको बताए। जसले प्रहरी र नागरिकबीचको दूरी घटाएको छ।उनका अनुसार बालबालिका, महिला र कमजोर वर्गको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ।
अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएपछि विद्यालय वरपरको सुरक्षा, सार्वजनिक स्थलको निगरानी तथा सीमा क्षेत्रको अवस्था समेत सुधार हुँदै गएको देखिन्छ। मायादेवी ८ का वडाध्यक्ष चोकबहादुर थाया मगरले प्रहरीको सक्रियतालाई सराहना गर्दै स्थायी प्रहरी पोष्ट स्थापनाका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
मायादेवी ८ बस्डिलवामा रहेको अस्थायी प्रहरी पोष्टले शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न र स्थानीयमा सुरक्षाभाव जगाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ। इन्चार्ज राजकुमार खत्रीको नेतृत्वमा प्रहरी टोलीले देखाएको सक्रियताले स्थानीयवासीमा प्रहरीप्रतिको विश्वास बढ्दै गएको छ। स्थानीयहरू यो सेवा अझ प्रभावकारी र दीर्घकालीन रूपमा निरन्तर रहोस् भन्ने अपेक्षा गरिरहेका छन्।




