
सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपालको आयोजनामा लुम्बिनी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गर्दै प्रत्यक्ष सम्पर्कमार्फत पर्यटन विकास भन्ने मूल नारासहित पर्यटन महोत्सव तथा प्रणय दिवस २०२६ आयोजना हुने भएको छ। माघी पर्वको समापन तथा प्रणय दिवसको अवसर पारेर फागुन २ गते भैरहवाको महेन्द्र सभागृहमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।
महोत्सवमा पर्यटन एक्स्पोका साथै थारु समुदायको मौलिक लोकसंस्कृति, नृत्य, भेषभूषा तथा परम्परागत खानाको विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
यसले थारु समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनसँगै लुम्बिनी प्रदेशको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सोटो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमाइले माघीको समापन र प्रणय दिवसजस्ता विशेष अवसरलाई पर्यटनसँग जोडेर कार्यक्रम आयोजना गर्नुको उद्देश्य स्थानीय संस्कृति र पर्यटनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने रहेको बताए। प्रत्यक्ष सम्पर्क र सहकार्यमार्फत पर्यटन क्षेत्रलाई चलायमान बनाउने र प्रदेशमा पर्यटकको बसाइ अवधि बढाउने कार्यक्रमको लक्ष्य रहेको बजिमाइले बताए।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको आयोजनामा हुने यस महोत्सवमा पर्यटन व्यवसायी, स्थानिय कलाकार, सांस्कृतिक समूह तथा सरोकारवालाको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा थारु समुदायको संस्कृतिक प्रस्तुती , थारु परिकार कार्यक्रमको मुख्य आकर्षण रहने छ ।
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।




