फेसबुकको ‘सुर्य’ मण्डपमा पुग्दा ‘सखिल’, सोझी युवतीमाथि ठगीको धन्दा

रुपन्देही, माघ २३ । समाजिक सञ्जाल फेसबुकमा ‘सुर्य प्रजापती’ नामको प्रोफाइल बनाएर एउटी सोझी किशोरीलाई प्रेमको जालमा पार्ने ‘रोमियो’ अन्ततः प्रहरीको खोरमा पुगेका छन् ।

बिहिवार विवाहको लगन गाँठो कसिने अन्तिम तयारीमा रहँदा ‘सुर्य’ को असली रूप ‘सखिल’ भएको खुलेपछि रुपन्देहीको गैडहवामा खैलाबैला मच्चिएको छ । कपिलवस्तु शुद्धोधन–४, मुर्खटवाका २१ वर्षीय सखिल अहमदले धर्म र थर मात्र ढाँटेनन्, प्रेमको नाटक मञ्चन गरेर किशोरीको परिवारबाट साढे ८ लाख रुपैयाँ समेत कुम्ल्याएको सनसनीपूर्ण तथ्य बाहिरिएको छ ।

सिखलले फेसबुकमा आफूलाई हिन्दू (प्रजापति) युवकका रूपमा प्रस्तुत गरेका थिए । रुपन्देही गैडहवा–४ की किशोरीसँग फेसबुकबाटै चिनजान भएपछि उनले प्रेमको अभिनय सुरु गरे । फेसबुकका चिल्ला कुरा र नक्कली परिचयको भरमा किशोरी मात्र होइन, परिवार समेत नराम्ररी झुक्कियो । ‘प्रजापतिकै छोरो’ ठानेर छोरी सुम्पिन तयार भएको परिवारलाई सखिलले आर्थिक दुहुनो गाई समेत बनाए ।

रुपन्देही प्रहरीका अनुसार सखिलले विवाह गर्ने पक्कापक्की भएपछि विभिन्न बहानामा किशोरीको परिवारसँग रकम माग्न थालेका थिए । उनले एक पटक ५ लाख र अर्को पटक ३ लाख ५० हजार गरी कुल ८ लाख ५० हजार रुपैयाँ हात पारिसकेका थिए । पैसा पनि पाउने र पराईकी छोरी पनि उडाउने दाउमा रहेका सखिलको त्यो ‘मास्टरप्लान’ माथि तब बज्रपात पर्यो, जब स्थानीय युवाहरूले उनको हुलिया र बोलीचालीमा शंका गरे ।

विवाहको प्रक्रिया अघि बढ्दै गर्दा स्थानीयले युवकको वास्तविक ठेगाना र वंश खोतल्न थाले । जब उनि सखिल अहमद भएको प्रमाण फेला पर्यो, तब झुटा ‘सुर्य’ को सातो गयो । धर्म र थर ढाँटेर धार्मिक सहिष्णुतामाथि नै खेलबाड गरेको भन्दै आक्रोशित स्थानीयले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

यस घटनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गम्भीरताका साथ लिएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले ती युवकलाई पक्राउ गरी ठगी मुद्दा चलाइएको पुष्टि गरे ।

“आफ्नो वास्तविक परिचय लुकाएर ठगी गर्ने र झुक्याएर विवाह गर्न खोज्ने ती युवामाथि सूक्ष्म अनुसन्धान भइरहेको छ,” डिएसपी चन्दले बताए ।

यो घटनाले तराईमा बढ्दो डिजिटल ठगी र नक्कली परिचयका आधारमा हुने सामाजिक अपराधको कुरूप तस्बिर देखाएको छ । फेसबुकमा देखिने सबै ‘सुर्य’ हरू चम्किला हुँदैनन्, कहिलेकाहीँ ती कसैको जीवन अध्याँरो बनाउन आएका ‘सखिल’ पनि हुन सक्छन् भन्ने गतिलो उदाहरण यो घटना बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5