सेतो कोट छोडेर किन राजनीतिमा आए डाक्टर लेखजंग?

भैरहवा — रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले मुलुकको स्वास्थ्य क्षेत्रमा व्याप्त नीतिगत समस्या समाधान गर्न आफू राजनीतिमा आएको बताएका छन्। न्यूरो चिकित्सकका रूपमा चिनिएका थापाले मंगलबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो मुख्य लक्ष्य विशेषज्ञ चिकित्सक उत्पादन र स्वास्थ्य सेवाको सरलीकरण रहेको प्रस्ट्याए।
पत्रकारहरुले ‘दक्ष चिकित्सक भएर पनि किन राजनीतिमा आएको?’ भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “एउटा कोठामा सिमित भएर बिरामी जाँच्नु मात्र सेवा होइन। मैले बिरामी जाँच्ने क्रममा धेरै नीतिगत त्रुटिहरू देखेँ। ती त्रुटिका कारण बिरामी र उनीहरूका परिवारले ठुलो मानसिक र आर्थिक सास्ती भोग्नुपरेको छ। त्यसैको उपचार गर्न म राजनीतिमा आएको हुँ।”
डा. थापाका अनुसार रोग लाग्दा बिरामी मात्र होइन, उसको पुरै परिवार मानसिक त्रासमा पर्छ। यदि राज्यले स्वास्थ्य नीतिमा सुधार गर्न सक्यो भने नागरिकले ढुक्कसँग स्वस्थ्य जीवन जिउन पाउने उनको विश्वास छ।
डा. थापाले आफू राजनीतिमा आउँदैमा चिकित्सा पेसा नछाडेको, बरु यसलाई अझ परिस्कृत बनाउन लागेको दाबी गरे। “डा. लेखजंग थापा पछि अर्को डाक्टर खोइ भन्ने अवस्था आउन दिने छैन,” उनले भने, “मेरो सपना भनेकै विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरू उत्पादन गर्नु हो। हामीले आफ्नै माटोमा दक्ष जनशक्ति तयार पार्नुपर्छ।”
उनले आफ्नो योजनामा प्रविधिलाई पनि प्राथमिकता दिएका छन्। हरेक व्यक्तिको स्वास्थ्य विवरण समेटिएको ‘मेडिकल एप’ निर्माण गर्ने र त्यसैका माध्यमबाट घरदैलोमै उपचार पुर्‍याउने व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए।
आफ्नो सीप र योजनालाई प्रमाणित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले उचित प्लेटफर्म दिएको उनले बताए। अहिलेसम्मका राजनीतिक पहलबाट स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेकाले आफूले रुपन्देही मात्र नभई समग्र मुलुककै स्वास्थ्य अवस्था सुधार्ने लक्ष्य लिएको उनले प्रस्ट पारे।
उनले भने, “मैले नीति बनाउने अवसर पाएँ भने स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्छु। जनताको स्वास्थ्यमाथिको पहुँच स्थापित गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5