
आईटीको युगमा पनि राजतन्त्रको कुरा गर्नु समयको बर्बादी गर्नु सरह भएको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिप्पणी गरेका छन् । उनले पुर्व राजा ज्ञानेन्द्र प्रति लक्षित गर्दै संसार प्रविधि र विज्ञानको पछि दौडिरहेको बेला राजाको शासनको बारेमा छलफल गर्नु मुर्खतापुर्ण काम भएको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने , ‘२०८०/०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय होईन । यो त आईटीको युग हो । जनताको समय हो । ’

उनले विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको भन्दै राजा ल्याउछौ भन्नेहरुलाई पनि कडा आलोचना गरेका छन् । उनले भने , ‘ राजतन्त्रलाई कसलाई चाहिएको छ ? नचाहिने, थोत्रो भएको शासन व्यवस्थाको बारेमा के टिप्पणी गर्न पनि जरुरी छैन । ’
महामन्त्री थापाले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय गराउने समय हो ।
उनले आम नेपालीलाई वर्तमान शासन व्यवस्थाप्रति भरोसा गर्न पनि आग्रह गरे । उनले भने, ‘संसारको सबैभन्दा उत्तम व्यवस्था हो गणतन्त्र । यसका पात्रहरुले गल्ती गरेका भए सुर्धार्नुपर्छ तर केहि व्यक्तिले गरेको गल्तीलाई नै लिएर सबै व्यवस्था गलत छ भन्नु मुर्खता हो । ’




