भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टिम बन्द प्रशिक्षणमा

भैरहवा, चैत २० गते । आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको हो ।


बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले बुधबार बिहान स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रको सिर उचो गराउने गरी खेल खेल्न शुभकामना दिए ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगती गर्व गर्न लायक रहेको जनाए । उनले राष्ट्रभक्ती र राष्ट्रियतालाई आत्साथ गरेर क्रिकेट खेल्न आग्रह गरे ।


प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए । उनले टिम एकजुट भएर सबै नेपाललाई एकै ठाउँमा बाँधी खुशी तुल्याउने गरी खेलाडीहरुले खेल प्रदर्शन गर्ने विश्वास जनाए ।

नेपाल क्रिकेट संघ (क्यान) छनोटमा परेका २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी छन् । हङकङमा हुने चारदेशिय सिरिजपछि नेपाली टिम आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।


बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा रोहितकुमार पौडेल, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5