
रुपन्देही, चैत १० । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनिटरी प्याड उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् ।
कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन् । जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्ने महिलाहरू धेरै हुनुहुन्छ । कपडा प्रयोग गर्दा समस्या मात्रै हुन्न सङ्क्रमणको जोखिम पनि हुन्छ । यसैलाई ध्यानमा राखेर रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका महिलाहरूले घरेलु प्याड बनाउने तालिम लिएका छन् ।


तालिमपछि लुम्बिनी सांस्कृतिक नगरपालिकाका महिलाहरू प्याड बनाउन सक्ने भएका छन् । स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँहरू हर्षित छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ७ को धर्मशिला यादवले घरेलु प्याड बनाउन सिक्न पाउँदा खुसी लागेको बताइन् । घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुनेबारे सिकेको उहाँले जानकारी दिइन् । ‘बजारमा पाइने प्लास्टिकको प्याड भन्दा राम्रो लाग्यो । महिलाहरूको लागी स्वास्थ्यकर रहेको छ,’ उनले भनिन् । तालिमबाट प्याड बनाउन सिक्नुभएको उहाँ आफूले प्रयोग गर्ने मात्रै नभएर दिदी बहिनी र आमाको लागी प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा छिन् ।कपडाको प्रयोग गरी पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरूलाई सिकाउने आत्मविश्वास उहाँहरूमा देखिन्छ । ‘व्यवसायिक रुपमा बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ,’ यादवले थपिन् ।
बजारमा पाइने प्याड एक पटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याडलाई पुनः प्रयोग गर्न सकिन्छ । सुरक्षित हिसाबले प्रयोग गर्ने तरिका भने जान्नुपर्छ । उनिहरूले त्यो पनि सिकेका छन् । कपडाभन्दा सुरक्षित र बजारको प्याड भन्दा कम खर्चमा घरेलु प्याड बनाउन जानेपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं २ भगतपुरवा निवासी अंकिता प्रजापति दङ्ग छिन् ।
‘बजारको प्याड किनेर प्रयोग गर्ने प्याड भन्दा घरेलु प्याड स्वास्थ्यकर हुने देखिन्छ,’ उनले भनिन्, ‘त्यसैले हाम्रो लागि यो प्याड राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।’
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं २ निवासी सीमा यादव सेनिटरी प्याड बनाउने तालिम निकै प्रभावकारी भएको बताइन् । ‘बाहिरको प्याड खरिद गर्न सक्ने अवस्था छैन । कपडाको प्याड बनाउन सहज र कम खर्चिलो पनि छ ।’ उनले भनिन्,’घरेलु प्याड बनाएर सुरक्षित राखेपछि आवश्यक पर्ने बित्तिकै प्रयोग गर्न सक्छौँ, कसैको मद्दत लिनु पनि पर्दैन ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिकंले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका २० जनालाई कपडाको सेनिटरी प्याड बनाउने ४ दिने तालिम गत चैत ५ गते देखि भएको थियो । वल्र्डलिकंकी सामाजिक उत्तरदायित्व प्रमुख अनुपा भण्डारी जलानले वल्र्डलिकंले वार्षिक रूपमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा देशका विभिन्न स्थानमा यस खालका तालिम लगायतका कार्यक्रमहरू आयोजना गर्ने गरेको बताइन् ।




