
भैरहवा । श्री रण अम्बिका आँखा अस्पतालमा ६ महिनामा १ लाख ७० हजार बढिले उपचार गराएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ३ मा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालमा गत साउन देखि पुस मसान्त सम्म १ लाख ७० हजार २ सय ८३ जनाको उपचार भएको अस्पतालले जानकारी दिएको छ । मङ्गलवार तिलोत्तमा नगरपालिकामा भएको अर्ध वार्षिक समीक्षा गोष्ठीमा अस्पतालले उक्त जानकारी दिएको हो । अस्पतालले यो अवधिमा १८ हजार ६४ जना बिरामीको आँखा अपरेसन गरेको समेत जनाएको छ ।
गोष्ठीमा बोल्दै प्रमुख अतिथि नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका उपसभापति शेर बहादुर केसीले गोष्ठीमा लक्ष्य अनुरूप काम भयो कि नाइँ समीक्षा गरेर अघि बढ्नुपर्ने जनाए । केसीले आफूहरू सबैको उद्देश्य उपचार हुनसक्ने बिरामीहरू अन्धोपन तिर नजाउन भन्ने रहेको बताए ।

विशिष्ट अतिथि नेपाल नेत्र ज्योति सङ्घ रुपन्देहीका सभापति कमलराज जोशीले गोष्ठीमा लक्ष्य अनुरूप काम भएको छ कि छैन त्यसको मूल्याङ्कन गरेर अघि बढ्ने गरी छलफल हुनुपर्ने बताए । जोशीले जनताको सेवामा कति काम अस्पतालले गर्न सक्यो त्यसको पनि मूल्याङ्कन हुनुपर्ने जनाए ।
अस्पतालका आउटरिच निर्देशक प्रा डा कवीन्द्र बज्राचार्यको स्वागत र चिफ मेडिकल डाइरेक्टर प्रा डा सुशीला पटेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको तर्फ बाट व्यवस्थापक प्रकाश रायमाझी, भेष विक्रम थापाले प्रस्तुति दिएका थिए । गोष्ठीमा श्री रण अम्बिका आँखा अस्पतालको शाखाको रूपमा रहेको बुटवल, कृष्णनगर, अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलवस्तु, प्युठान आँखा अस्पतालका प्रतिनिधीहरुले आफ्नो अर्ध वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।




