
भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं १ निवासी राम सेवक अहिर उमेरले ५० नाघे । पेसाले ज्याला मजदुरी गर्ने राम सेवक सम्पत्ति भनेकै ४ धुर जग्गा हो । ३ छोरी र १ छोराका पिता राम सेवक माटोले निर्माण भएको जीर्ण घरमा बसोबास गर्दै आएका थिए । बर्खामा पानी पर्दा डुबानका कारण रात काट्न पनि मुस्किल पर्थ्यो राम सेवकको परिवारलाई तर अव समस्या भने समाधान हुने भएको छ । राम सेवकको समस्या समाधान हुनुको प्रमुख कारण हो मेयर आवास कार्यक्रम । राम सेवक भन्छन् सिद्धार्थनगर नगरपालिकाले आफ्नो अवस्था देखेर घर बनाइदियो एकदमै खुसी लागेको छ । बर्खामा डुबान परेर घरभरि पानी हुन्थ्यो, रात काट्न मुस्किल हुन्थ्यो तर अव यो घर निर्माण भएपछि दुख हुँदैन राम सेवक भन्छन् ।
राम सेवक जस्तै समस्यामा थिए सिद्धार्थनगर नगरपालिका वडा नं ४ निवासी ६४ बर्सिया जगदीश पाण्डेय । जगदीश र उनकी श्रीमती अहिले परिवारमा दुई जना मात्र छन् । उनीहरूको ४ छोरीको विवाह भइसकेको छ । दुई वृद्ध दम्पती हाल सम्म माटोले बनेको घरमा बस्दै आएका थिए । तर सिद्धार्थनगर नगरपालिकामा लागु भएको मेयर आवास कार्यक्रमका कारण जगदीशले पनि पक्की घर पाउने भएका छन् । जगदीश भन्छन् अव घरमा पाहुना आउँदा पनि राम्रो बस्ने ठाउँ हुने भयो ।


मेयर आवास कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तर्गत ७ परिवारका लागि घर निमार्ण गर्दै छ ।
७ परिवारको लागि ठेक्का सम्झौता भई हाल घर निमार्णको काम तीव्र रूपमा भइरहेको छ । आवास कार्यक्रमको लागि सिद्धार्थनगर नगरपालिकाका १ को नौडिहवामा मुन सरिफ, रानीगाँउमा राम सेवक अहिर, वडा नम्बर ४ को दोगहरामा जगदीश पाण्डे, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक मुरली केवट, वडा नम्बर ६ को दया पथमा किस्मत हरिजन, वडा नम्बर ८ को बसडिलियामा घनश्याम कहार र वडा नम्बर ११ को भुजौलीमा अयोध्या भुंईहारका लागि घर बन्दै छ ।

यी घरहरू चैत मसान्तभित्र सम्पन्न गरी सम्बन्धित घरधनीलाई हस्तान्तरण गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको नगरपालिकाले जनाएको छ । छनौटमा परेका एवं विपन्नलाई निश्चित बजेट विनियोजन गरी नगरपालिकाले प्रत्येक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।
कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.ली.ले घर निर्माण गरिरहेको छ । एक तले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेड रुमसहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त घर बनाएर नगरपालिकाले घरधनीलाई हस्तान्तरण गर्दै छ । नगरमा कोही पनि घरबारविहीन नहुन भन्ने उद्देश्यले विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक वर्ष सूचना प्रकाशित गरी विपन्न व्यक्ति छनौट गर्ने गर्छ ।




