
कांग्रेस सूचना तथा सञ्चार विभागले आइतबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला र विशिष्ट अतिथि बालकृष्ण खाँण थिए ।
दुई साताअघि पार्टी सभापति शेरबहादुर देउवासँग दाङको थारू संस्कृति महोत्सव उद्घाटनमा पनि खाँण सहभागी भएका थिए । त्यस्तै, बुटवल–गोरुसिंगे सडक शिलान्यास कार्यक्रममा पनि खाँण सहभागी भए ।

बुटवलमा सम्पन्न औद्योगिक मेलाको समापनमा प्रमुख अतिथि उनलाई बनाइएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जेलबाट छुटेका खाँण जिल्लाका विभिन्न कार्यक्रममा सक्रिय छन् । मानवतस्करीबाट गुमेको आफ्नो राजनीतिक करियरलाई पुनःस्थापित गर्ने कोशिशमा उनी लागेका छन् ।
तस्करी धन्दामा जोडिएका पूर्वगृहमन्त्री खाँणलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सात महिना जेल बसेर उनी उच्च अदालतको आदेशमा, २०८० मंसिर २८ गते छुटेका थिए ।
करिअरमा लागेको ठूलो ‘दाग’ लागेका नेता खाँण राजनीतिमा फेरि ‘कमब्याक’ गर्ने प्रयासमा सक्रिय देखिन्छन् ।
गम्भीर मुद्दाको अन्तिम किनारा नलाग्दै खाँणको सक्रियतालाई लिएर प्रश्न समेत उठेको छ । तर, कतिपयले भने काठमाडौंसँग प्रतिस्पर्धा गर्ने पूर्वाधारदेखि जिल्लाको विकासमा खाँणको योगदान अझै आवश्यक रहेको भनेर उनलाई राजनीतिमा आउन प्रोत्साहित गरिरहेका छन् ।
गृहनगर रूपन्देही क्षेत्र नम्बर– ३ बाट खाँणलाई हारको स्वाद चखाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री दीपक बोहोराको स्वास्थ्य अवस्था चिन्ताजनक छ । शिखरमा पुगेको राजनीतिक करिअर भुटानी शरणार्थी काण्डले अन्त्यजस्तै भएको थियो । खाँण अहिले आफ्नो क्षेत्रका हरेक कार्यक्रममा सहभागी भएका छन् ।
कार्यकर्ता र नागरिकको नाडी छामेर आफ्नो अवस्था बुझ्न निकट कार्यकर्तालाई भित्रीरूपमा खटाएका छन् । गुमेको साख र लागेको दाग मेट्दै खाँणले पार्टी राजनीतिमा आफ्नो पुरानो पहिचान र अस्तित्व जोगाउन प्रयास गरिरहेको उनका निकटस्थहरू बताउँछन् ।
‘जिल्लाका हरेक सुखद कार्यक्रम होस् या दुःख परेको घरमा ‘खाँण दाइ’ पुग्नुभएको छ,’ कांग्रेसका एक जिल्ला नेताले भने, ‘उहाँलाई हराएर अहिले जिल्लावासीले पछुतो मानेको पनि पाइयो । उहाँ पहिलेकै शक्तिमा फर्किए पूर्ण साथ दिन्छौं भन्ने कार्यकर्ताको मनसाय हामीले मोटामोटी रूपमा पायौं । उहाँ पनि घर–घर र टोलछिमेकमा पुगेर कार्यकर्ताको नाडी छाम्नुभएको छ ।’
आफ्नो बलियो गुट जोगिएको अवस्थामा आफूले पुनः शक्ति आर्जन गर्न सक्ने उनको आत्मविश्वास देखिन्छ । खाँणलाई जिल्लामा लामो समयदेखि साथ दिएका कार्यकर्ताले उनको पुनरागमनको आश मारेका छैनन् ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले खाँणमाथि लागेको मुद्दा अन्तिम किनारा लागेपछि उनको पुनरागमन हुने बताए ।
‘यात्राका क्रममा आफूले सहीरूपमा गाडी चलाउँदा पनि अरूले ल्याएर ठोकिदिन्छ नि, हो त्यस्तै भएको हो बालकृष्ण खाँणलाई,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘परिस्थितिवश आरोप लागेको हो । उहाँ केही समय साइलेन्टजस्तै देखिनुभएको हो, राजनीतिमा कुनै दखल पुगेको छैन । पार्टी र संसदीय राजनीतिमा उहाँको कमब्याक पक्का छ ।’
विश्वकर्माले थपे, ‘म केही दिन रूपन्देही गएर बसें । मुद्दा पार लागेपछि पुरानै शक्तिमा खाँणको आवश्यकता छ भनेर पार्टी कार्यकर्तादेखि रुपन्देहीवासीको आशय पाएँ । कांग्रेसमा खाँण किशोरावस्थादेखि तरुण दल, नेविसंघ हुँदै हरेक क्षणमा प्रभावशाली नेता हुनुहुन्छ ।’
खाँण तीन दशकभन्दा बढी समयदेखि संसदीय राजनीतिमा छन् । चुनावमा धेरै जीत र थोरै हार उनको भागमा परेको देखिन्छ । पछिल्लोपटक तत्कालीन गृहमन्त्री खाँण राप्रपाका नेता दीपक बोहोरासँग झण्डै ३ हजार मतले पराजित भएका थिए ।
कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले खाँण पार्टीमा सक्रिय हुँदा कार्यकर्तामा उत्साह छाएको बताए ।
‘उहाँ आफ्नो पुरानै स्टाटसमा फर्किनुपर्छ भन्ने आमकार्यकर्ताको चाहना छ,’ अर्यालले भने, ‘उहाँ अहिले औपचारिक र अनौपचारिक कार्यक्रममा पनि सक्रिय भएर लाग्नुभएको छ । रुपन्देहीवासीले उहाँमाथि लागेको अभियोगको अन्तिम किनारा लागेर संसदीय राजनीतिमा फर्किएको देख्न चाहेका छन् ।’
पार्टी र सत्ताको महत्त्वपूर्ण अवसर र मौका पाएका खाण सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्थे । जेल जीवनपछि खाँण अहिले शेखर कोइरालाको नजिक हुने कोशिशमा देखिएका छन् ।
राजनीति शुरू गर्दादेखि यहाँसम्म आइपुग्दा खाँणको राजनीतिक यात्रा भने सहज ढंगले अगाडि बढेको छैन । २०३६–०३७ देखि २०४६ सालसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि विद्यार्थी राजनीतिको अगुवाइ गर्दै रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, चितवन, काठमाडौं, ललितपुर, नुवाकोटका प्रहरी कस्टडीमा उनी पटक–पटक थुनिएका थिए ।
जिल्लामा ठूला विकास आयोजना ल्याउनेमा उनको योगदान छ । कठोर चुनौती सामना गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता उनको छ । खाँणलाई जेलमा रहँदा सभापति शेरबहादुर देउवाले पर्याप्त सहयोग गरेनन् । सोहीकारण उनले देउवासँग चित्त दुखाएको देखिन्छ ।
कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले खाँणको सक्रियता सबै कार्यकर्ताका लागि स्वीकार्य रहेको बताए । ‘जुन ढंगबाट पहिले अगाडि बढ्नुभएको थियो, अहिले पनि त्यही रूपमा क्रियाशीलता हो । पब्लिकले उहाँलाई राजनीतिज्ञको रूपमा स्वीकारेको छ । हिजोकै ऊर्जा लिएर आउनुहुन्छ, कुनै दायाँबायाँ छैन,’ गिरीले लोकान्तरसँग भने ।
आगामी महाधिवेशनमा शेखरलाई साथ दिने संकेत
आइतबार नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको प्रचार अभियानमा खाँणले अब देउवालाई नभई इतर पक्षलाई साथ दिने संकेत गरे । प्रशिक्षणपश्चात मन्तव्यका क्रममा खाँणले संस्थापन छाडेर कोइराला समूहमा आबद्ध भएको संकेत गरेका थिए । खाँणले पार्टी सभापति बोलेको आधा कुरा पनि आफूले नबुझ्ने बताए ।
डाक्टरहरूको संगत गर्ने आशयको अभिव्यक्ति दिएसँगै नेता–कार्यकर्ताले उनी संस्थापन छाडेर कोइराला समूहमा आबद्ध भएको रूपमा लिएका छन् । खाँणले अब आफू डाक्टर बन्न नसके पनि दुई डाक्टरहरू (डा. शेखर कोइराला र डा. मीनेन्द्र रिजाल) को संगत गर्ने बताए ।
खाँणले भने, ‘अब डाक्टर बन्न उमेरले पनि थेग्दैन, तर दुई डाक्टरको संगतचाहिँ गर्छु ।’ खाँण जेल पर्दा डा. कोइरालाले उनलाई पटक–पटक भेटे । त्यतिबेला नै खाँण कोइराला पक्षमा लाग्ने अड्कल काटिएको थियो ।
– प्रकाश आचार्य/लोकान्तर




