
कोशी अस्पताल पूर्वको सबैभन्दा ठूलो सरकारी अस्पताल हो । अस्पतालमा ओपीडी सेवा लिन मात्रै दैनिक ७ सय देखि एक हजार बिरामी आउँछन् ।
कोशी प्रदेशको निकै व्यस्त अस्पतालको नेतृत्व डा. रुणा झाले सम्हालेकी छन् । उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) भएर आएको करिब तीन महिना भयो । तीन महिनामा नीतिगत सुधारदेखि बिरामीलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न निकै मेहनत गरेको उनी बताउँछिन् ।

साढे ३ सय शय्याको अस्पतालको नेतृत्व मात्रै होइन प्रशासनमा समेत पाँच महिला छन् । रुणासँगै प्रशासन प्रमुख रीता खतिवडा, नर्सिङ्ग प्रशासक प्रमुख मन्जु यादव, मेडिकल, लेखा प्रमुख कौशिला दाहाल र फार्मेसी स्टोर प्रमुखमा रन्जना साह छन् । आफूसँगै प्रशासनमा महिला विभागीय प्रमुख हुँदा काम गर्न धेरै सहज हुने गरेको मेसु झाले बताइन् ।
तीन महिनाको अवधिमा उनले बिरामी र प्रशासनतर्फ थुप्रै सुधारका कामहरू अगाडि बढाएकी छन् । सदैव केही नयाँ गर्ने हुटहुटी बोकेकी डा. रुणा आम मानिससम्म सहज रूपमा स्वास्थ्य सेवा पुगोस् भन्ने चाहन्छिन् । उनले त्यसका लागि बिरामीको सुविधालाई केन्द्रमा राखेर केही नवीन प्रयास गरिरहेको बताइन् ।
पूर्वी नेपालका पहाडी जिल्ला, तराईं र भारतका धेरै बिरामी उपचारको लागि कोशीमा आउने गरेका छन् । अस्पतालमा धेरैजसो विपन्न परिवारका बिरामीहरू आउने गरेका छन् ।
डा. झाको जन्म धनुषामा भएको हो । उनी बुवा धनञ्जय र आमा चन्द्रिका झाकी छोरी हुन् । उनको परिवारमा चार जना डाक्टर र एक जना वकिल छन् । श्रीमान् रगत तथा क्यान्सर रोग विशेषज्ञ चिकित्सक हुन् । डा. रुणाले पाकिस्तानबाट एमबीबीएस गरेकी हुन् भने प्याथोलोजिष्टमा एमडी गरेकी छन् ।
२०७२ सालमा ११औं तहबाट सरकारी सेवामा प्रवेश गरेकी उनको पहिलो पोस्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो । प्रयोगशालापछि ९ महिना उनले प्रसूति गृहमा काम गरिन् । त्यसपछि राष्ट्रिय प्रयोगशालामा चार वर्ष निर्देशकको जिम्मेवारी सम्हालेपछि उनी कोशी अस्पताल चलाउने जिम्मेवारी लिएर आएकी हुन् ।
कोशी अस्पतालको मेसुको जिम्मेवारी सम्हालेको तीन महिनामा डा. रुणाले केही नीतिगत सुधार गरेकी छन् । स्वास्थ्य उपचारमा आउने बिरामीलाई सहजता प्रदान गर्ने काम पनि भएको उनले सुनाइन् । गुणस्तरीय र सस्तो मूल्यमा औषधि खरिद गरिएको उनले बताइन् । ‘अहिले तत्काल रिजल्ट देखिने खालको त धेरै छैन । तर, पछि देखिने दीर्घकालीन कामको शुरूआत भएको छ,’ उनले भनिन्, ‘यसअघि औषधि खरिदको प्रक्रिया ढिलो हुने गरेको थियो । म आएपछि औषधि खरिदको प्रक्रिया अगाडि बढेको छ । सस्तोमा खरिद गरियो भने बिरामीले पनि सस्तोमा औषधि पाउने हो ।’
बिरामीले उपचार गरेदेखि कतिले कस्तो छुट लिए त्यसको पनि अभिलेख राख्ने काम भइरहेको उनले सुनाइन् । त्यसैगरी पहुँचवाले अस्पतालको ल्याब र फार्मेसीमा बिल नतिरी सेम्पल दिने र रिपोर्ट लिने गरेको गुनासो आउने गरेको थियो । आफू आएपछि यसलाई व्यवस्थित गर्ने काम भएको उनले बताइन् । ‘बिल नकाटी परीक्षण गरेको फेला पारे ल्याबका कर्मचारीको तलब र भत्ताबाट कटाउने भनेर निर्देशन दिएपछि अहिले सजग भएका छन्,’ उनले भनिन् ।
बिरामीको गुनासो सुन्न अस्पतालभित्र क्यूआर कोर्ड राखिएको छ । क्यारआर कोर्ड स्क्यान गरेपछि अनलाइनमा आफ्नो गुनासो राख्न पाइन्छ । आएका गुनासोलाई अस्पताल प्रशासनले सुधार गर्ने प्रयत्न गरिरहेको उनले बताइन् ।
आकस्मिक कक्षमा विशेषज्ञ चिकित्सकको सिफारिसबेगर रेफर गर्न नपाउने व्यवस्था मिलाएको छ । यसअघि ड्युटीमा खटिएका मेडिकल अफिसरले रेफर गरिदिने गरेको थिए । ‘आकस्मिक कक्षमा बिरामी पुगेपछि चिकित्सक र स्वास्थ्यकर्मीले हेरेपछि विशेषज्ञ चिकित्सकलाई फोन जाने गर्दछ । त्यसपछि ड्युटीमा खटिनुभएको चिकित्सक आउनुहुन्छ,’ मेसु झाले भनिन् ।
विशेषज्ञ चिकित्सकले हेरेर उपचार हुन नसक्ने भएपछि मात्रै रेफर गर्ने सिस्टमको विकास गरिएको उनले बताइन् । ‘रेफर गर्दा पनि स्वास्थ्य बीमाबाट उपचार हुने ठाउँमा गर्नुपर्ने भनेका छौं । बिरामी पठाउँदा पनि व्यवस्थित तरिकाले पठाउने गरेका छौं,’ उनले भनिन्, ‘एक जना बिरामीसँगै स्वास्थ्यकर्मी पठाउने गरिन्छ । बिरामीलाई समस्या हुन नदिन रेफर युनिट पनि खडा गर्ने तयारी गरिएको छ ।’
रेडियोलोजी विभाग २४ घण्टा सञ्चालन गर्ने तयारी
जनशक्ति अभावका कारण अहिले रेडियोलोजी विभाग २ बजेसम्म मात्रै खुला हुने गरेको छ । तर, अब भने दुई सिफ्टमा रेडियोलोजी विभाग सञ्चालन गर्न चिकित्सकको माग गरिएको उनले बताइन् ।
अहिले नियुक्तिको प्रक्रिया भइरहेको छ । हाल एक जना चिकित्सकले दैनिक ४० देखि ५० जना बिरामीको भिडियो एक्सरे गर्ने गरेका छन् । नयाँ नियुक्ति भएपछि २ बजेपछि रेडियोलोजी विभाग चलाउने योजना रहेको उनले सुनाइन् ।
मेसुको जिम्मेवारी सम्हालेपछि लोकसेवाले बनाएको मापदण्डअनुसार खुला प्रतिस्पर्धाबाट चिकित्सक र नर्स नियुक्तिको प्रक्रिया अगाडि बढाएको उनले बताइन्। विगतजस्तो आफूखुसी चिकित्सक नियुक्ति गर्ने परिपाटीको अन्त्य भएको उनको भनाइ छ ।
जनशक्ति अभावले अहिले आइसीयू ८ शय्याको मात्रै छ । आइसीयूमा नर्सिङ स्टाफको संख्या एकदमै न्यून रहेको उनले बताइन् । उनका अनुसार नर्स पदपूर्ति गर्न सूचना आह्वान भैसकेको छ । थप नर्स नियुक्ति गरेपछि अस्पतालको आइसीयूमा शय्या बढाउने र बन्द भएको एचडीयू सेवा पनि शुरू गर्ने उनको योजना छ ।
पाँच बेडको एचडीयू चाँडै सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाइन् । त्यसपछि बिरामीको स्वास्थ्य उपचार थप सहज हुन उनको विश्वास छ । त्यसैगरी एनआइसीयू सेवा र बाँझोपनको उपचार पनि चाँडै शुरू हुने उनले बताइन् ।
– उत्तम पोखरेल/लोकान्तर




