
मोरङको सुन्दरहरैँचाकी सुनिता थापा त्रिभुवन विश्वविद्यालय (टीयू) टपर हुन् । सामान्य परिवारमा जन्मिएकी सुनिताले सुकुना बहुमुखी क्याम्पसबाट बीबीए सातौं सेमेस्टरमा ४ जीपीए ल्याएर टीयू टप गरेकी हुन् ।
सुन्दरहरैँचाको गछियामा आमाबुवासँग बस्दै आएकी सुनिताले अहिलेसम्म कुनै परीक्षामा अनुत्तीर्ण भएको अनुभव गरेकी छैनन् ।

कक्षा १ देखि नै पहिलो र दोस्रो हुन मात्रै उनले प्रतिस्पर्धा गर्नुपर्थ्यो । सुकुना क्याम्पसबाटै ३० जना उत्तीर्ण भएका छन् । यो पहिलो संयोग भने होइन । यसअगाडि पनि क्याम्पसका सबैजना पास भएको उनले बताइन् ।
उनलाई अहिले नै जागिर खानेमा भने ध्यान छैन । सहकारी तथा निजी क्षेत्रमा जागिर पाए पनि पढाइ सकेर मात्रै जागिर खाने उनी बताउँछिन् । छोराछोरीलाई पढाउन बुवाआमा पसल नै बेचेर गछिया आएका हुन् । बुवाआमाले धनकुटाको जोरपाटीमा इलेक्ट्रोनिक पसल चलाउने गरेका थिए ।
उनले कक्षा १० सम्म भने निजी विद्यालय मै पढेकी हुन् । उनीसँगै पढ्नेहरू पनि अब्बल छन् । ‘कहिले कसले बाजी मार्छ कहिले कसले,’ उनले भनिन्, ‘यसपटक मेरो ग्रेड (जीपीए) धेरै आयो । अब मेरै आउँछ भन्ने छैन । तर, दबाब भने हुन्छ ।’
आफूले दबाबमा नपढ्ने गरेको उनी बताउँछिन् । कलेजबाहेक अतिरिक्त कक्षा नलिएको उनले बताइन् । ‘बिहान साढे १० बजेदेखि मेरो कलेज लाग्छ,’ उनले भनिन्, ‘अनि बेलुका ४ बजे मात्रै छुट्टी हुन्छ ।’
कलेज भने नछुटाइ पढ्ने गरेको उनले बताइन् । उनी यसअघि पनि पटक–पटक कलेजमा प्रथम भएकी थिइन् ।
उनलाई कलेजले नगदसहित सम्मानसमेत गरेको थियो । ‘कलेजमा पुगेपछि टपर हुने कुरा नै ठूलो हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर आज पढ्दिनँ भनेर अल्छीचाहिँ गर्नुभएन । नियमित पढ्नुपर्छ ।’
पढाइमा समय व्यवस्थापन सबैभन्दा ठूलो कुरा भएको उनी बताउँछिन् । ‘समय व्यवस्थापन गर्न सक्नुपर्छ । म दैनिकजसो नै अध्ययन गर्छु । आज धेरै पढ्छु, भोलि पढ्दिनँ भन्ने हुँदैन । हिजो पढेको कुरा आज नै बिर्सन पनि सकिन्छ । तर, दैनिक समय मिलाएर पढ्यो भने त्यो बिर्सँदैन,’ उनले भनिन् ।
पढेर विदेश जाने सोच भने आफूले नबनाएको उनको भनाइ छ । फर्स्ट सेमेस्टरमा उनी पहिलो भएकी थिइन् । तेस्रोमा पनि उनी पहिलो भइन् । सेमेस्टर टप हुने विद्यार्थीलाई कलेजले नगदसहित सम्मान गर्ने गर्छ ।
कलेजले २५, २० र १५ हजार गरेर नगद दिने गरेको छ । पहिलो हुनेलाई २५, दोस्रो हुनेलाई २० र तेस्रो हुनेलाई १५ हजार दिने गरेको छ । तेस्रो पुरस्कार भने नलिएको उनले बताइन् ।
‘सातौँमा पनि छैटौं सेमेस्टरमाभन्दा बढी मेहनत गरेको थिइनँ,’ उनले भनिन्, ‘तर, यसपटक टीयू टपर भनेर सरहरूले भन्दा म पनि अचम्ममा परेको छु ।’
फर्स्ट सेमेस्टरमा उनले २५ हजार पाएकी थिइन् । तेस्रोमा भने तीन जनाको बराबर जीपीए आएकाले पैसा पनि बाँडिएको उनी बताउँछिन् ।
मेहनत गरेर समयको सदुपयोग गर्दा पढाइमा निजी र सामुदायिक भन्ने नहुने उनको तर्क छ । सामुदायिकमा पनि शिक्षक र विद्यार्थी लगनशील भएर लाग्दा राम्रो नतिजा आउने उनको भनाइ छ ।
सुकुना कलेजले एक सेमेस्टरमा २ वटा आन्तरिक परीक्षा गराउने गरेको छ । ६ महिनाको अवधिलाई एक सेमेस्टर भन्ने गरिन्छ ।
यो अवधिमा तीनवटा परीक्षा दिनुपर्छ । परीक्षा आउँदा पनि कहिल्यै दबाब महसुस नभएको उनले बताइन् ।
– उत्तम पोखरेल/लोकान्तर




