
नेपालका आदिम चार धाम मुक्ति क्षेत्र, रुरु क्षेत्र, पशुपति क्षेत्र र बराह क्षेत्र हुन्। वसन्तको आगमन भएको छ। नेपाली साहित्य रतिरागसँग पनि जोडिएको छ। कामदेवको बाणमा नपर्नेहरू प्रायः कमै हुन्छन्। प्रम्लोचा नामकी स्वर्गकी कन्या परम सुन्दरी भृगु वंशका देवदत्त ऋषिका साथको प्रेम प्रसंगले बृहत्तर रुरु क्षेत्रलाई जन्माएको छ। गुल्मी, स्याङ्जा र पाल्पाको मिलन केन्द्र रुरु क्षेत्र हो। यसको सिमाना स्याङ्जाको रुद्रवेणी, भृगुतुंगेश्वर, पाल्पाको रिडीबजार अनि गण्डकीको ऋषिकेश र अर्गलीसमेतको भूभाग विस्तृत रूपमा छ, हाम्रो पश्चिम क्षेत्र नेपालको !
कालीगण्डकीको तटमा कन्दमूल खाई दिन बिताइरहेका ऋषि देवदत्तले कडा तप गरेको देखेर स्वर्गका राजा इन्द्र डराएछन्, तपोवलले स्वर्ग माथि विजय पाउला भनेर ! काम मोहित पारी तप भंग गर्न सकिएमा त्यो डर घटेर जाने विश्वासका साथ इन्द्रले सबैभन्दा कामुक प्रम्लोचालाई गण्डकीको किनारामा पठाइदिएछन्। प्राचीन समयमा पनि हिजोआजको जस्तो राजनीतिक तँछाडमछाड कम थिएन ! राज्य सत्ताको बागडोर सम्हालेका इन्द्रले पठाएकी ती प्रम्लोचा अप्सरा काम मोहित भएर नृत्य प्रस्तुत गर्न लागिछन्। युवा ब्राह्मण देवदत्त कामबाणमा पर्न गएकाले ती युवतीसँग प्रेम बसेछ, सांसारिक जीवन उनैसँग बित्न थालेछ।

भारतको तुंगभद्रा नदी किनारामा विभाण्डक मुनिको आश्रम थियो। विभाण्डकका छोरा थिए शृंगी ऋषि ! जो तप गर्ने स्थल खोज्दै उत्तराखण्ड रेसुंगा लेकमा आइपुगेछन्। बाब विभाण्डक रेसुंगा वरिपरिकै क्षेत्रमा तप गर्दै थिए। त्यस क्षेत्रमा अत्यन्त रमणीय ताल थियो। तालमा स्नान गर्नेहरूको भीडमा एक दिन काम मोहित भएछन् ती ऋषि एक युवतीसँग ! युवा ऋषिको वीर्यपात हुँदा पानीमा परेछ। एउटा पोथी मृगले पानी पिउँदा गर्भ रहेछ र कालान्तरमा गैंडाको सिंगजस्तो एउटा सिंग भएको बालक जन्मेछ। बाबु विभाण्डकले यो गुप्त कुरा थाहा पाएर यी आफ्नै सन्तान सम्झी सिंग भएको बालकको नाम शृंगी भनी राखेछन्। उनको नाम ऋष्यशृंग भएछ, पछि अपभ्रंश हुँदै रेसुंगा बन्न पुगेछ। प्राचीन ऋषिहरूको तपस्थली भएकाले यो क्षेत्रको नाम नै रेसुंगा भन्न थालिएछ।
पहिले रेसुंगा क्षेत्र वनैवनले ढाकेको थियो। कैयन वन्यजन्तु एवं पशुपन्छीको बासस्थल थियो यो ! प्राकृतिक सौन्दर्यले भरिपूर्ण रेसुंगा क्षेत्र एउटा तीर्थस्थल हो। पर्यटकहरूको आकर्षणको केन्द्र्रबिन्दु हो यो ! रेसुंगा तीर्थस्थल नपुग्ने नेपालीहरू सायद कमै होलान्। यातायातको सुगमता, बुटवल पाल्पा रुरु हुंँदै यहाँ पुग्न सकिन्छ। तम्घासबाट सडकमार्गले छिचोलेको छ। त्यस क्षेत्रमा पवित्र हवन कुण्ड, शिवालय, विष्णु पादुका, सिद्ध स्थान मन्दिरसमेतले भक्तजनका लागि थप आकर्षण बनाएको छ। सन्त, महात्माहरूको कमी छैन त्यहाँ ! तम्घास माथिको अग्लो डाँडो नै रेसुंगा लेक हो। यो जैविक विविधताको दृष्टिले पनि साह्रै महत्वपूर्ण छ। समुद्र सहतदेखि ७५ सय मिटरको उचाइमा रहेको यो क्षेत्र गुल्मीको शिर भाग नै हो।
हिमवत् खण्ड, नेपाल माहात्म्य, स्कन्द पुराणमा विशद् चर्चा गरिएको रुरु रेसुंगा क्षेत्रमा हालसम्म धेरै सिद्ध पुरुषहरूले आफ्नो जीवन समर्पण गरिसकेका छन्। शशिधर स्वामी महाराज, लक्ष्मीनारायण प्रभुजी महाराज, यदुकानन्दजी महाराज, आदि महात्माहरूले आफ्नो त्याग र समर्पण देखाएका छन् यहाँ ! शालिग्राम शिला क्षेत्र मानिने गण्डकी तट मुक्ति क्षेत्रदेखि रुरु रिडी क्षेत्र, देवघाटदेखि त्रिवेणीधाम नवलपरासी क्षेत्र नेपालको पश्चिम क्षेत्रका विशेष नामहरू हुन्। अनेकौं संगम, वेणी, तीर्थ र तनहुँ क्षेत्रमा रहेका अनेकौं गुफाले समस्त राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चा पाएका छन्। वेदव्यासको भूमि दमौली एक सुन्दर नगरी नै हो। ने मुनिको नामले नेपालको नामकरण भएको झन्डै पाँच हजार वर्ष पुरानो हो। कलियुगको नेपाल सत्य, त्रेता र द्वापरमा पनि अस्तित्वमा थियो। तपो नगरी, सत्यवती क्षेत्र आदिले यसको पुरानो नाम धार्मिक दृष्टिले प्रचलित थियो। पाण्डवहरूको स्वर्ग प्रवेश क्षेत्र पनि नेपालको स्वर्गद्धारी हो।
शिव र विष्णुमा भेद देख्नाले माथि उल्लेख भएका देवदत्तको तप भंग भएको थियो। इन्द्रले पठाइएकी प्रम्लोचामा आँखा लाग्न पुगेको कारण देवतामा पृथक् धारणा राख्नाले हो। शिव भन्नु कल्याण, विष्णु भन्नु रक्षक ! मानवले अर्थात् नश्वर जीवले शिव र विष्णुमा भेद देख्नु हुंँदैन। शैवहरू वैष्णव हुन्। वैष्णवहरू शैव हुन्, केवल नाममात्र फरक ! यसर्थ उपर्युक्त क्षेत्र गण्डकीको स्नानपछि शिवलिंगको अर्चना एवं शालग्रामको वन्दना गर्ने सवै जीवात्माहरूले गतिमुक्ति पाउँछन्। परिवार, सुख, समृद्धि, ऐश्वर्य र शान्ति प्राप्त गर्न सक्छन्। बौद्धमार्गीहरूको पनि गण्डकी क्षेत्र, मुक्ति क्षेत्र जानेहरूको भीड देखिन्छ। मुक्ति क्षेत्र पुगी अप्पर मुस्ताङ लोमान्थाङ बोर्डरसम्म पुगेर टे«किङ यात्रा पूरा गरी पाल्पा, गुल्मी घुम्न झर्ने विदेशी हामी कहाँ धेरै छन्। पोखरालगायतका अन्नपूर्ण क्षेत्र अति प्रसिद्ध पर्यटकीय क्षेत्र हो, विश्वभरिकै !
प्रसंग प्रम्लोचाकै छ। प्रम्लोचा गर्भिणी भइन्, उनले एक कन्यालाई जन्म दिइन्। कन्यालाई छोडी प्रम्लोचा स्वर्ग गइन्। जन्मिएकी बालिकालाई रुरुनामक मृगहरूले पाले ! सत्ययुगमा पशुहरू पनि मानव बालबालिकालाई हेर विचार गर्न सक्थे। रुरु मृगले पालिएकाले कन्याको नाम रुरु नै राखियो। बाबुको जीवन संस्कार रुरु कन्यामा रहेकाले गण्डकी आसपासमा उनले आफ्नो दिन बिताइन्। आध्यात्मिक, धार्मिक संस्कार प्रसस्त थियो रुरु कन्यामा ! रुरु कन्याले कठोर थप गर्न थालिन्। कालान्तरमा शरीर जीर्ण भएर अंगहरू गल्न थालेपछि ईश्वरको प्रत्यक्ष दर्शन मिल्यो उनलाई। इच्छाअनुसारको वरदान माग्न भनेपछि रुरु कन्याले यो पूरै क्षेत्र रुरु क्षेत्र होस्, पावन यस क्षेत्रमा आउनेहरू सबैको उद्धार होस्। रुरु कन्याले भाव विभोर भएर परमेश्वरसँग पुकार गरिन्– साँच्चै हजुर मसँग खुसी हुनुहुन्छ भने हजुर यहाँ ऋषिकेशको नामले बस्नुहोस्। परमेश्वर शंख, चक्र, गदा, पद्य स्वरूप भगवान्ले हुन्छ भन्नुभो। त्यसबेलादेखि यो क्षेत्र ऋषिकेश क्षेत्र भयो। ती कन्यालाई दिएको वरदानअनुसार परमेश्वर कालीगण्डकीमा प्रवेशद्वार भएर शिलामूर्ति हुन थाल्नु भयो। भनिन्छ, रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्दा मणिमुकुन्द सेन राजाले भगवान् ऋषिकेशको मूर्ति पाएका थिए रे !
राजाले दरबार लगेर स्थापना गर्न लाग्दा सपनामा यसो नगर्न आदेश भएको थियो रे ! पछि ती राजा मणिमुकुन्द सेनले कालीगण्डकीको संगम नजिकै डाँडामा मन्दिर बनाई ईश्वरको स्थापना गरेका हुन् भन्ने जनश्रुति अद्यापि छ। हामी हरिद्धार क्षेत्र ऋषिकेश आश्रमसम्म पुग्न लालायित हुन्छौं। हुन पनि बद्रीनाथ जाने प्रवेश मार्गमा भगवान् ऋषिकेशको भव्य क्षेत्र छ– यो भारतको कुरा हो।आफ्नै क्षेत्र नजिकै रहेको ऋषिकेश क्षेत्रमा पुग्न सकेमा पनि हाम्रो आन्तरिक पर्यटन प्रवद्र्धन त हुन्छ नै। देवत्वको क्षेत्र नेपालको आफ्नो महŒव र गरिमाको पनि श्रीवृद्धि हुन्छ। नेपालमा त्यस्तो कुनै स्थान नै छैन जहाँ तीर्थ, मठ, मन्दिर र कला कौशलता नभएको होस् ! नयाँ वसन्तको आगमनसँगै वैदिक सनातनीहरूले बुझ्नै पर्ने पावन रुरु क्षेत्रको चर्चा यत्ति नै।




