सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।

निजी डेरीहरूले कम मूल्यमा दूध लैजाने गरेको उनीहरूको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चालन मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरूले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिए ।

उनले भने, “दूधको आयात नरोकिँदा उनीहरूले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन ।

जिल्लामा रहेका एक सय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठुला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् ।

विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यमा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले बताए ।

भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी भुक्तानी पाउन सकेका छैनन् ।

भदौदेखि यता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् । संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उनले बताए । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरूको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5