
प्रतीक पौडेल
भैरहवा । आज भन्दा २४ वर्ष अगाडी बेवारिसे अवस्थामा थियो बाउन्नकोटी वन । गाई भैँसीको चरन क्षेत्र रहेको उजाड वन भित्र वरको रुख मुनि पूजा गर्न स्थानीय पुग्थे जसलाई बाउन्न कोटी देवी भनिन्थ्यो । र सोही बाउन्न कोटी देवीको नाम बाट वनको नामकरण भएको थियो ।

समयले कोल्टे फेर्यो र उजाड वनले एउटा दमदार परिचय बनायो । बाउन्न कोटी वन अहिले आन्तरिक पर्यटकको प्रमुख रोजाइ बन्न थालेको छ । उजाड वन अहिले भरिभराउ रुख बिरुवाले हरियाली मात्र छैन, जिल्लाकै नमुना पर्यटकीय स्थलको रूपमा परिचय बनाएको छ ।
२०५७ सालसम्म बेवारिसे अवस्थामा रहेको रुपन्देहीको बाउन्न कोटी वन समुदायमा हस्तान्तरण भएपछि तार बार गरेर संरक्षण पाएपछि हराभरा हुन थालेको हो ।
अहिले पनि वन भित्र ऐतिहासिक बौद्धकालीन कुवा रहेको छ । प्राचिनकाल देखिनै यस क्षेत्रमा घना जङ्गल रहेको र वन भित्र पवित्र स्थल रहेकोले ऋषिमुनिहरुको तपोभुमी ज्ञान सिद्ध योगीहरूको बसोबास गर्ने गरेकोले यसको महत्त्व धेरै रहेको बाउन्न कोटी देवी मन्दिरका मुख्य पुजारी माधव पन्थी बताउँछन् ।
१ सय ५४ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वन तिलोत्तमा नगरपालिकाको वडा नं. १३, १४, १५ र १६, सियारी गाउँपालिकाको वडा नं. १ र ओमसतिया गाउँपालिकाको वडा नं. १ र २ मा फैलिएको बाउन्न कोटी सामुदायिक वनले अहिले रुपन्देहीको सौराहाको उपमा पाएको छ ।
यहाँ रहेको प्राचीन बाउन्न कोटी मन्दिर, नन्द–भाउजू ताल र सिमसार क्षेत्रको संरक्षण अनि वृक्षारोपणले हराभरा भएपछि अहिले आन्तरिक पर्यटकको रोजाइको गन्तव्य स्थल बनेको छ । बाउन्न कोटी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिल बहादुर क्षेत्री भन्छन् वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्नको लागी आफूहरूले गुरुयोजना बनाएर काम गरिरहेका छौँ ।
बाउन्न कोटी वन नजिकै १० किलोमिटर आसपास क्षेत्रमा यस्तो हरियालीयुक्त रमणीय स्थान अरू नभएकाले यहाँ भैरहवादेखि भारतीय सीमावर्ती सहर सुनौली, नौतनवा, गोरखपुरसम्मबाट समेत पर्यटकहरू घुम्न र वनभोजका लागि आउने गर्छन् ।
बर्सेनि करिब एक लाख बढी पर्यटक आउने गरेको तथ्याङ्क छ । वनको उपभोक्ता समितिमा ३ हजार २ सय ५४ सदस्य छन् । यो वन टिक प्रजाति भएको नेपालको पहिलो वन पनि हो । जसमा कुल क्षेत्रफल मध्ये ७५ प्रतिशत भू–भागमा टिक वनले ढाकेको छ भने १० प्रतिशत भू–भागमा अन्य मिश्रित वनले ओगटेको छ र बाँकी १५ प्रतिशत भू–भागमा सिमसार क्षेत्र नन्द भाउजु ताल, पिकनिक स्पोर्ट, गौशाला, बाउन्न कोटी सिद्दधाम, देवी पंचायन मन्दिर, बाल उद्यान, नर्सरी, पार्किङ क्षेत्र र दुई वटा खेल मैदान रहेका छन् ।
कोषाध्यक्ष दुर्गी कुमारी राना भन्छिन् बाउन्न कोटी सामुदायिक वनले वार्षिक करिब २ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । रानाले वनले काठ, पिकनिक सेड लगायत विभिन्न गतिविधि मार्फत उक्त आम्दानी गरेको बताइन् ।
बाउन्न कोटी सामुदायिक वनले स्थानीय स्तरमा सहयोग गर्ने पनि गरेको छ । स्थानीयहरूलाई घाँस, दाउरा उपलब्ध गराउनुको साथै १४ वटा आय आर्जन समूहलाई विपन्न वर्गको निम्ति १ लाखका दरले १८ महिनाको लागी निर्ब्याजी लगानी, ३ जनालाई गोबर ग्यास प्लान्ट जडानको लागी अनुदान, दाहसंस्कारका लागी आवश्यक पर्ने दाउरा सहयोग, वन क्षेत्र अन्तर्गत पर्ने सामुदायिक विद्यालय र अनाथ आश्रममा अध्ययन गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोगका निम्ति २२ लाख ५० हजारको अक्षयकोषको स्थापना लगायत सहयोग गर्दै आएको छ ।
बाउन्न कोटी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गरिएको छ । जस अनुसार हरेक वर्ष २ हेक्टर क्षेत्रफलका पुराना रुख मासेर नयाँ रुख रोपिन्छ । बाउन्न कोटी सामुदायिक वन भित्र धेरै जातीका वन्यजन्तु रहेका छन् । जस्तै बँदेल, नीलगाई, बाँदर, दुम्सी, स्याल, कछुवा, अजिङ्गर, खरायो, लोखर्के, न्याउरी मुसो । यस्तै चराचुरुङ्गी मयुर, चिल, बकुल्ला, ढुकुर, डाङ्ग्रे, सुगा, कोइलीहरूको वासस्थान रहेको छ ।




