
भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघको ६६ औं वार्षिक साधारणसभा तथा अधिवेशनको लागि शुक्रवार मनोनय दर्ता भएको छ । फागुन २४ गते हुने निर्वाचनका लागि शुक्रवार मनोनय दर्ता भएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघको संस्थापक सदस्य संस्थाको रुपमा रहेको पश्चिम नेपालकै पुरानो उद्योगी व्यवसायीको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघमा यतिबेला चुनावी प्रतिसपर्धा सुरु भएको छ ।

संघको निर्वाचन आयोगका प्रमुख आयुक्त बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलका अनुसार अध्यक्षसहित केही पदाधिकारी र सदस्यमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको छ । केही पदमा भने आवश्यक संख्या भन्दा बढी उम्मेदवारी परेकोले निर्वाचन हुने भएको छ ।
शुक्रवार भएको मनोनय दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, कर्पारेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, उद्योग उपाध्यक्षमा गोबिन्द ज्ञवाली, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी र कर्पोरेट सदस्यमा विकासकुमार गोयन्का र अर्पित कुमार अग्रवालको मात्रै उम्मेदवारी परेको छ ।
यसैगरी वस्तुगत सदस्यमा प्रितम रौनियार, उद्योग महिला सदस्यमा विष्णु माया शर्मा पौडेलको मात्रै उम्मेदवारी परेको छ । जति संख्या आवश्यक हो सोही संख्यामा मात्रै उम्मेदवारी परेकोले उक्त पदमा निर्विरोध हुने भएको छ ।
यता सबैभन्दा बढी प्रतिस्पर्धा वाणिज्य तर्फको उपाध्यक्ष पदमा हुने देखिएको छ । एक पद बाणिज्य उपाध्यक्षमा यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरिबहादुर थापा बिच प्रतिस्पर्धा हुने देखिएको । उक्त पदका प्रत्यासीहरु तीनै जना चुनाबी मैदानमा उत्रिने तयारीमा छन् ।
यमकला न्यौपाने सिद्धार्थ उद्योग बाणिज्य संघमा लामो ईतिहास बोकेकी महिला उद्यमी हुन् । कुनै बेला संघमा शान्ता जि.सी र यमकला न्यौपाने महिला सदस्यको रुपमा खम्बा जस्तै थिए । शान्ता जि.सीको निधन भएपछि यतिबेला यमकला संघमा एक मात्रै पुरानो महिला नेतृ हुन् ।
पुराना उद्योगी व्यवसायीहरु यमकलालाई पदाधिकारीको रुपमा ल्याउनुपर्ने अडानमा छन् । पौडेलसँग उद्योग बाणिज्य संघको प्रदेशको उपाध्यक्ष भई काम गरेको अनुभव छ । उनी सफल उद्यमी हुन् । संघको भावी नेतृत्वको लागि उनलाई यतिबेला एउटा पक्षले उपाध्यक्षमा निर्वाचित गराउने गरी ल्याएको छ ।
अर्का प्रत्यासी थापा नयाँ पुस्ताबीच लोकप्रिय छन् । उनको उपाध्यक्षमा उम्मेदवारीले नेतृत्वलाई पनि झस्काएको छ । आफ्नो कुरामा अडान राख्ने थापा भैरहवामा व्यवसायिक मात्रै नभएर सामाजिक रुपमा पनि चर्चित छन् । उपाध्यक्षमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।
यसैगरी सह–कोषाध्यक्ष एक पदका लागि संजय कुमार बेरिवाल र पल्लवी न्यौपाने बिच प्रतिस्पर्धा हुने भएको छ । दुबैजना यसअघि कार्यसमिती सदस्य भई काम गरिसकेका छन् ।
वाणिज्य तर्फको महिला सदस्य एक पदका लागि सुनयना केसी गिरी र मीना पन्थी बिच प्रतिसपर्धा हुने भएको छ । उद्योग तर्फको ५ जना सदस्यको लागि ९ जनाको उम्मेदवारी परेको छ ।
कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सिर्जना कार्की जोशी, ओम जैसी, रचना क्षेत्री र विजय अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै वाणिज्य तर्फको १० सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको छ । जसमा पुजा आचार्य, सन्दिप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनवमयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद रिजाल, अर्जुन कार्की, रमेश कान्दु, कृष्णप्रसाद अधिकारी, यज्नयप्रसाद बेल्बासे, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्द्रकान्त भट्टराई, जवाहिर अग्रहरी, हरिष सेठिया, धर्मविर शर्मा, गंगासागर अग्रहरी र प्रकाश रेग्मीको मनोनयन दर्ता भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा २ हजार १ सय १२ जना सदस्य छन् ।




